अनुत्पादक खर्च रोक्छौँ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गरिने बताउनुभएको छ ।
आज पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको सातौँ बैठकमा उहाँले प्रदेश सरकारले यो वर्ष चार पाङ्ग्रे सवारी साधन खरिद र सामाजिक भवनमा बजेट खर्च नगर्ने प्रष्ट पार्नुभयो ।
उहाँले बजेट निर्माणकै चरणमा अनुत्पादक र साधारण खर्च कटौती हुने गरी योजना तथा कार्यक्रम तय गरिएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले साना तथा टुक्रे योजनालाई निरुत्साहित गर्न बजेटको ‘सिलिङ’ तोक्न सुरु गरिएको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले विगतमा स्रोत सुनिश्चितता नगरी बजेट विनियोजन गर्दा समस्या निम्तिएको भन्दै यो वर्ष स्रोतमा आधारित रहेर बजेट ल्याइएको बताउनुभयो । उहाँले बजेटमा विनियोजन भएको बाहेक कामको भुक्तानी समेत नहुने स्पष्ट पार्नुभयो ।
उहाँले आउँदो आवमा आयोजना बैङ्क बनाएर योजना प्राथमिकीकरण गरिने उल्लेख गर्नुभयो । योजना छनोटको प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले माग र आवश्यकता आधारमा बजेटमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माणमा काममा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयको खाँचो औँल्याउनुभयो ।
प्रदेश सरकारका सातवटै मन्त्रालयका सचिवले मन्त्रालयगत समीक्षा र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्