तपाईँ सुन्दै हुनुहुन्छः

जनताका बीचमा पुग्न माओवादी केन्द्रीय सदस्यहरूलाई निर्देशन

सुरेन्द्रमणि त्रिपाठी/अर्जुन श्रेष्ठ/केशव ढुङ्गाना/टोमराज मेहता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा आम जनतालाई जानकारी गराउन पार्टीका केन्द्रिय सदस्यहरूलाई निर्देशन दिनुभएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको समापन समारोहलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले देशभित्रका प्रत्येक घर परिवारलाई भेटेरै पार्टीका काम कारबाही र सरकारका राम्रा कामहरूका बारेमा जानकारी दिई प्रचार प्रसार गरी आम जनताका बीचमा पुग्न पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो ।

त्यसका लागि माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीन महिने अभियान सञ्चालन गर्ने र त्यस अभियानमा सात प्रदेशका सात वटा वडामा आफैँ खटिने अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गर्नुहुँदै सुशासन एवम् समृद्धिको यात्रामा देशलाई अगाडि बढ्नबाट अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा व्याप्त विसङ्गति र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न चालेका कदमबाट सरकार जनतामा नयाँ आशाको सञ्चार गर्न सफल भएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको पनि बताउनुभयो ।

केन्द्रिय समितिको आज सम्पन्न बैठकले गरेका निर्णयहरू सुनाउनुहुँदै माओवादी केन्द्रका नेता लिलामणि पोख्रेलले देशका विभिन्न स्थानमा सुख्खा परेकोमा ती क्षेत्रलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत प्रदान गर्नुपर्ने, बढ्दो महँगी नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने, सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउनुपर्ने, सरकारले समृद्ध नेपाल निर्माणका लागि अगाडि बढाएका यस्ता कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सबैको साथ र सहयोगको आवश्यकता रहेको लगायतका निर्णयहरू बैठकले गरेको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक सफलताका साथ सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो ।

प्रवक्ता महराले जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियानको आगामी भदौ १६ गते सुरुवात गरिने र सो अभियानका क्रममा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने बताउनुभयो ।

यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो भने त्यस प्रस्तावमाथि सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यस्तै माओवादी केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिलाई चार सय नौ सदस्यीय बनाउनुका साथै केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button