तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रहरू विदेशी चलचित्रहरूसित प्रतिस्पर्धा गर्नसक्ने बनाउने आवश्यक रहेको बताउनुभयो ।

यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यहीँ जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासहरूबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरूको सम्मानमा सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो । हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको पनि उहाँले जानकारी दिनुभयो । चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

राजनीतिक, कर्मचारी वा अन्य कुनै पनि क्षेत्रमा केही मानिसले गर्ने कमजोरीलाई मूलधार बनाउने र राम्रो काम गर्नेहरुको चर्चा नहुने परिपाटी समाजका कायम रहेको उल्लेख गर्दै उहाँले यसलाई सच्याएर हरेक क्षेत्रमा राम्रो काम गर्नेहरूलाई सतहमा र नराम्रो काम गर्नेहरूलाई किनारामा राख्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा महिलाको प्रवेश सुरु गराउने भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको भूमिका प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीहरू चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाइ झेल्नुपर्‍यो होला, आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ । उहाँहरूले थालेको अभियान समाज रूपान्तरणमा ठूलो विद्रोह थियो, यसको नेपाली समाजले युग युगसम्म मूल्याङ्कन गरिरहने छ ।’

चलचित्र विकास बोर्डको सभाहलमा आईतबार भुवन चैत्य बसुन्धरा फाउन्डेसनद्वारा आयोजित ‘पुरस्कार अर्पण समारोह’मा पुरस्कार ग्रहण गरेपश्चात सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका साथमा सामुह

त्यस अवसरमा मन्त्री शर्माले भुवन चैत्य वसुन्धरा फाउण्डेशन पुरस्कार २०७९ र २०८० बाट विभिन्न सर्जक तथा स्रष्टाहरूलाई सम्मान गर्नुभएको थियो । हरिश भुवन चन्द पुरस्कारबाट वरिष्ठ गीतकार यादव खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट वरिष्ठ सङ्गीतकर्मी गणेश रसिक र वरिष्ठ अभिनेता शिव श्रेष्ठ साथै चेतनारायण वसुन्धरा भुसाल पुरस्कारबाट वरिष्ठ अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button