पार्टी एक ढिक्का भएको महसुस भएको छ : अध्यक्ष दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एक ढिक्का भएको महसुस भएको बताउनुभएको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा पार्टी अब एक ढिक्का भएको सबैलाई महसुस भएको बताउनुभयो ।
“जारी बैठकमा लोकतन्त्र तथा जनवादको उच्च अभ्यास भएको छ”, उहाँले भन्नुभयो, “पार्टी एक ढिक्का भएको महसुस भएको छ, बैठक वाद, विवाद र संवादमा टुङ्गिएको छ ।”
पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै केन्द्रीय सदस्यको बोल्ने क्रम लगभग सकिएको जानकारी दिनुभयो । उहाँले बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी निर्माणका लागि ठोस योजना ल्याउन सुझाव दिएको बताउनुभयो ।
आजको बैठकमा ७४ जना केन्द्रीय सदस्यले बोल्नुभएको थियो । उपाध्यक्ष महराले बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीले प्रस्तुत गरेको दस्ताबेजको मूल मर्ममा सहमति जनाएको बताउनुभयो ।
केन्द्रीय सदस्य रेखा शर्माले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीले आफ्ना पदाधिकारीलाई बचाउने काम नगरेको स्पष्ट पार्नुभयो ।
“प्रधानमन्त्रीले घरकै मान्छे परे पनि छाड्दिन भनिसक्नुभएको छ, मिडियामा आएका आधारमा सबै व्यक्ति छानबिनको घेरामा आइहाल्छ भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “हामीसँग राजस्व अनुसन्धान विभाग लगायतका विभिन्न निकायहरू छन्, उनीहरूले आवश्यक छानबिन गरिरहेका छन् ।”
उहाँले माओवादी केन्द्रका पदाधिकारीहरूको नाम मुछिएको विषयमा सम्बन्धित व्यक्ति छानबिन गर्न तथा दोषी ठहर भए सजाय भोग्न तयार रहेको भन्दै उहाँले यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।
आजको बैठकमा छलफल भएका विषयमा जानकारी दिँदै उहाँले केन्द्रीय सदस्यहरुले सुशासनको पक्ष र विकृति विसङ्गतिविरुद्धको सरकारले काम गरेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको बताउनुभयो ।
उहाँले बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टी निर्माणको महाअभियानमा ठोस जिम्मेवारीका साथ लक्ष्य किटान गरी अघि बढ्न पनि सुझाव दिएको बताउनुभयो ।
उहाँले सोही सुझावलाई मध्यनजर गर्दै भोलि बस्ने बैठकमा केन्द्रीय समितिले योजना बनाउने र कार्य विभाजनको प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । भोलिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्