तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी बैठक : भ्रष्टाचार विरुद्धको अभियानमा निर्मम हुन केन्द्रिय सदस्यहरूको सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय कमिटीको पूर्ण बैठक बुधबारदेखि जारी छ । 

काठमाडाैँस्थित प्रज्ञाभवन कमलादीमा जारी बैठकमा केन्द्रिय सदस्यहरुले मुख्यतः पार्टी जनताको जनजीविका र भ्रष्टाचारविरुद्ध र सुशासनको अभियानमा निर्मम हुनुपर्ने आवाजहरू उठेको सहभागी केन्द्रिय सदस्यहरूको भनाइ छ । 

माओवादीको केन्द्रिय कमिटीको पूर्ण बैठकमा मुख्यतः पार्टी निर्माण र सुदृढीकरण गर्दै जनतालाई केन्द्रबिन्दुमा राखेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने सदस्यहरुले नेतृत्वलाई सुझाउनुभएको छ । 

बैठकमा पार्टीलाई सबल बनाउने र ऊर्जा दिने किसिमको धारणाहरू आइरहेको बताउँदै केन्द्रिय सदस्य अजयशंकर नायकले यसअघि महाधिवेशनले दिएको पार्टीको कार्यभार अनुसार पार्टी शुद्धीकरण र सुदृढीकरण गरेर जानुपर्ने बताउनुभयो । 

बैठकमा आइरहेका विचारहरूबारे जानकारी गराउँदै अर्का केन्द्रिय सदस्य धर्मशीला चापागाईँले विचारको संश्लेषण गरेर जनतालाई केन्द्रबिन्दुमा राखेर लक्ष्य र कार्यदिशा तय गरेर जान सुझावहरू आइरहेको जानकारी दिनुभयो । 

बैठकमा अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियान र सुशासनको अभियानमा सिङ्गो पार्टी दृढ रहँदै नेतृत्वलाई सघाउनुपर्ने आवाजहरू पनि उठेको बताउँदै केन्द्रिय कमिटी सदस्य रञ्जित तामाङले आम नेता कार्यकर्तालाई उत्साहित बनाउने र सिङ्गो देश र जनतालाई आशा जगाउने बैठक बन्ने विश्वास व्यक्त गर्नुभयो । 

माओवादी केन्द्रको पूर्ण बैठकमा सहभागी केन्द्रिय सदस्यहरुले पार्टीलाई सुदृढ र बलियो बनाउन नेतृत्व पुनः जनतातर्फ फर्कनु पर्नेमा विशेष जोड दिइएको छ । यस्तै, पार्टी भित्र होस या बाहिर भ्रष्टाचार र अपारदर्शी क्रियाकलापका विरुद्ध पार्टी र सरकार निर्मम हुनुपर्ने सदस्यहरूको सुझाव छ । 

आशा गरौँ, पार्टी केन्द्रीय कमिटीको पूर्ण बैठकमा दिएका सुझावलाई आत्मसाथ गर्दै सरकारको नेतृत्वसमेत माओवादी केन्द्रले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको अवस्था बदल्ने ठोस गन्तव्य तय गर्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button