तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न अभाव, छैन डिपोमा चामल

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको छ । 

हिमाली गाउँपालिकाको कुवाडी अस्थायी डिपोमा गत आर्थिक वर्षको चामल असारमा सकिएकोले एक महिनादेखि खाद्यान्नको संकट भएको हो । 

ढुवानी अनुदानको चामल डिपोमा सकिएपछि  हिमाली गाउँपालिका वडा नम्बर १, २,र ३ को बिच्छँया, वडा नम्बर  ४ र ५ को रुगीनमा खाद्यान्नको संकट भएको स्थानीय राज बहादुर थापाले बताउनुभयो । 

कुवाडी डिपोमा चामल नहुँदा हुम्लाको ताजाकोट गाउँपालिकामा समेत खाद्यान्न संकट भएको छ । 

हिमाली गाउँपालिका–१ बिच्छयाँका धर्मलाल रोकाया दुई दिन लगाएर कुवाडी अस्थायी डिपोमा चामल किन्न पुग्नुभयो तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएको दुखेसो उहाँले सुनाउनुभयो ।

आर्थिक वर्षमा २०७९÷०८० का लागि कुवाडी डिपोमा ३५ सय क्वीनटल चामल रहेको थियो । कोटाको चामल असारको अन्तिममा सकिएपछि डिपोमा एक दाना पनि चामल नरहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताउनुभयो । 

आर्थिक बर्ष २०८०÷०८१ मा कुवाडी डिपोका लागि २५ सय क्वीनटल चामलको कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको पाइएको छ । 

कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकेजी ५२ रुपैयाँमा उपभोक्ताले पाउने गरेका छन् । तर बजारमा उक्त चामल प्रतिकेजी ८० रुपैयाँ हालेर अहिले स्थानीय किन्न बाध्य भएका छन् । 

बजारको पहुँच भएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल पर्याप्त छन्, भने दुर्गममा रहेका डिपोमा एक दाना पनि चामल नरहेको हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभयो । 

यस्तै, स्वामिकार्तिक गाउँपालिकामा स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल नभएको गाउँपालिकाले जनाएको छ । 

गत आर्थिक वर्षको ५ सय क्वीनटल चामल जेठमै सकिएको थियो, यो आर्थिक वर्षमा पनि ५ सय क्वीनटल चामलको कोटा रहेको तर ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले जनाएको छ ।

दुर्गमका डिपोमा चामल अभाव भइरहेका बेला बजार क्षेत्रका डिपोहरू सदरमुकाम मार्तडी र कोल्टी डिपोमा चामल पर्याप्त रहेको छ । 

मार्तडी डिपोमा १२ सय क्वीनटल, कोल्टी डिपोमा १२ सय २९ क्विन्टल चामल मौजाद रहेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । यी डिपोमा बर्षात अवधिभर  चामल अभाव नहुने शाखा प्रमुख मेखराज ओझाले बताउनुभयो । हिमाली गाउँपालिकाका–१ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट कुवाडी डिपोमा आउने स्थानीय चामल नभएपछि बजारको महँगो चामल लगेर फिर्ता भएको स्थानीय जय भण्डारीले बताउनुभयो । 

हिमाली गाउँपालिकाको बिच्छयाँमा मात्र ४ हजार जनसङ्ख्या रहेको छ । सबै घरमा खाद्यान्नको अभाव भएको स्थानीयले बताएका छन् । 

हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो, यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button