तपाईँ सुन्दै हुनुहुन्छः

जियो कृषिसँग जोडिँदै राप्तिसोनारीका किसान

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा जियो कृषि एपमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको छ । पालिकामा जियो कृषिसँग जोडिएर प्रविधिसँगै कृषिमा आबद्ध हुने किसानको सङ्ख्या बढ्न थालेको हो ।

हरेक कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार गरेर खेती सम्बन्धी जानकारी दिने उक्त एपमा हालसम्म दुई हजार पाँच सय बढी किसान आबद्ध भइसकेको जियो कृषिका कार्यक्रम निर्देशक रदिप तान्दुकरले बताउनुभयो । उहाँका अनुसार पालिकामा जियो कृषिले कृषक समूह, सहकारी, एग्रोभेट, जियोकृषि सहजकर्ता, प्राविधिक विद्यालय सँग समन्वय गरेर काम गरिरहेको छ ।

यसै सन्दर्भमा जियो कृषिले राप्ती सोनारीमा आयोजना गरेको छलफल तथा नतिजा प्रकाशनका कार्यक्रममा जियो कृषिले विभिन्न सङ्घसंस्था, स्थानीय तहसँग पनि सहकार्य गरेर किसानलाई सेवा दिइरहेको बताइएको छ । कार्यक्रम निर्देशक तन्दुकरले भन्नुभयो ‘हामीले दिगो रुपमा कसरी किसानहरूको खेत खेतमा पुग्न सकिन्छ भन्ने हिसाबमा काम गरिरहेका छौ’ उहाँले भन्नुभयो, ‘गाउँपालिकामा यसको प्रयोगकर्ताको सङ्ख्या राम्रो छ । यसलाई अझै कसरी बिस्तार गर्न सकिन्छ भन्नेमा हामी लागिपरेका छौ ।’

यस्तै राप्ति सोनारी गाउँपालिकाका उपप्रमुख मनिषासिंह थारुले कृषिको विकासका लागि राप्ती सोनरी गाउँपालिकामा जियो कृषिको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले हाल जियो कृषिले सहकारीसँग समन्वय गरेर कार्यक्रम गरिरहेकाले यो एकदमै प्रभावकारी हुने बताउनुभयो । उहाँले आगामी दिनमा यो कार्यक्रमलाई राप्ती सोनरी गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गर्न सकिने बताउनुभयो ।

जियो कृषिका बाँकेका सहायक कार्यक्रम अधिकृत मुकेश मिश्रले जियो कृषिका माध्यमबाट छिटो भन्दा छिटो किसानहरूका समस्या समाधान गर्न सकिने बताउनुभयो । उहाँले किसानहरुले एपमार्फत पठाएका समस्या विज्ञहरूले केही समयमा जवाफ पठाउने गरेको बताउनुभयो ।

‘जियो कृषिले किसानको उत्पादकको खेतमा कुन बाली उत्पादन गर्दा सुहाउनेदेखि त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी दिने गर्दछ’ उहाँले भन्नुभयो–“यसमा किसानले खेत दर्ता गरेपछि मलको मात्रा कति प्रयोग गर्ने भन्ने पनि जानकारी दिइन्छ ।” यो जियोकृषि एप किसानले निःशुल्क चलाउन पाउने उहाँले बताउनुभयो ।

जियो कृषि एप सन २०१७ मा शुरु गरिएको थियो । यस एपमा किसानहरुले मोबाइलबाटै बजारीकरणका बारेमा पनि जानकारी पाउने गर्छन् । यो एपमा कृषि बाली, तरकारी, फलफूलका खेती प्रविधिका बारेमा पनि सूचनामूलक जानकारी राखिएको छ । एपमा मौसम सम्बन्धी सूचना, पालिकाबाट प्रकाशित कृषि सूचना, रोग तथा किराहरूको सूचना लगायतका पनि जानकारी राखिएका छन् ।

राप्तीसोनरी गाउँपालिकामा जियो कृषिका बारेमा किसानलाई जानकारी दिन एक बर्ष अघि परियोजना सञ्चालन गरिएको थियो । राप्तीसोनरी गाउँपालिकाबाट यस एपका प्रयोगकर्ताले हालसम्म ५ सय ५५ वटा समस्या पठाएकोमा त्यसको विज्ञहरूले समाधान गरेको कार्यक्रम अधिकृत मिश्रले बताउनुभयो । यो एपमा सबैभन्दा बढी राप्ती सोनरी गाउँपालिका वार्ड नं. ४ का किसान जोडिएका छन् । उक्त वडाबाट ४ सय १२ किसान यस एपमा आबद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button