तपाईँ सुन्दै हुनुहुन्छः

२६ क्लबहरूद्वारा एन्फाको ध्यानाकर्षण

काठमाडौँ । सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबहरूले आफूले पाउनुपर्ने रकम यथाशीघ्र उपलब्ध गराउन माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षण गरेका छन् ।

तीन लिगका २६ क्लबहरूले बिहीबार एन्फा महासचिव किरण राइलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

एन्फाले क्लबहरूलाई २०७७/७८ र २०७९/८० लिगको रकम बुझाउन बाँकी छ । यसैगरी उनीहरुले फुटबलको मेरुदण्डको रूपमा रहेको लिगलाई आर्थिक प्राविधिक, भौतिक र व्यवस्थित रुपमा विकास गरी आर्थिक पारदर्शिता गरी आर्थिक स्रोतको ग्यारेन्टी गरेर मात्रै खेल सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बाँकी रकमको भुक्तानी गर्न आग्रह गरे ।

एन्फाले ‘ए’ डिभिजन क्लबहरूलाई २०७७/७८ को लिगमा ९७ लाख ५० हजार तथा २०७९/८० को लिगमा २ करोड ४५ लाख गरी कुल ३ करोड ४२ लाख ५० हजार रुपैयाँ चुक्ता गर्न बाँकी छ ।

यसैगरी ‘बी’ डिभिजन लिगका क्लबहरूलाई पनि एन्फाले २०७७/७८ को लिगमा ९१ लाख तथा २०७९/८० को लिगमा ३५ लाख गरी (शीर्ष डिभिजनमा उक्लिएका चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबको जोडेर) कुल १ करोड २६ लाख पनि भुक्तान गरेको छैन । ‘सि’ डिभिजन क्लबहरूले पनि २०७७/ ७८ लिगको कूल ४० लाख ५० हजार पाएका छैनन् ।

‘ए’ डिभिजनका प्रत्येक क्लबले २०७७/७८ मा ७ लाख ५० हजार र २०७९/८० मा १७ लाख ५० पाएका छैनन् । यसैगरी ‘बी’ डिभिजनका प्रत्येक क्लबले ६ लाख ५० हजार र ‘सि’ डिभिजनमा प्रत्येक क्लबले ४ लाख ५० हजार पाउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button