‘न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुन सक्छ’
ललितपुर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानवअधिकारको संरक्षण हुनसक्ने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश स्मृति दिवस तथा २९ औँ प्रकाश मानवअधिकार पुरस्कार वितरण कार्यक्रममा उहाँले न्यायालय राजनीतिक हस्तक्षेप, आर्थिक प्रलोभन, राज्यको हस्तक्षेप, दबाब र प्रभावबाट मुक्त हुन नसके निष्पक्ष न्याय प्रदान हुन नसक्ने बताउनुभयो । उहाँका अनुसार निष्पक्ष न्याय हुन नसके मानवअधिकारको संरक्षण पनि हुन सक्दैन ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाले स्वतन्त्र र गैर राजनीतिक संस्था भनेको न्यायालय नै भएको भनाइ राख्दै मानवअधिकार र लोकतन्त्रको संरक्षणका लागि यसलाई निष्पक्ष र स्वतन्त्र राख्नुपर्ने बताउनुभयो ।
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले मानवअधिकार र सङ्क्रमणकालीन न्यायका विषयमा अङ्ग्रेजीमा रूपान्तरण गरेर व्याख्या गर्न नसक्दा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो अदालतका नजिर स्थापित हुन नसकेको बताउनुभयो ।
इन्सेकका अध्यक्ष डा कुन्दन अर्यालले मानवअधिकार आन्दोलनलाई परिष्कृत गरेर जानु आवश्यक भएको भन्दै आम नागरिकमा न्यायको पहुँच पुर्याउन नसक्नु पनि गम्भीर विषय भएको धारणा राख्नुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले यस वर्षको प्रकाश मानवअधिकार पुरस्कार कपिलवस्तुकी रुकय्या खातुनलाई प्रदान गरेको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्