तपाईँ सुन्दै हुनुहुन्छः

ठेक्काको म्याद सकियो, सडक बिस्तारको काम अधुरै

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी स्थित छायाँनाथरारा नगरपालिका वडा नं २ मा पर्ने न्युरोड बजारदेखि रारा विमानस्थल ताल्चा सम्मको ९ किलोमिटर सडक बिस्तारको काम पुरा नभई सम्झौता अवधि सकिएपछि सडक बिस्तारको काम अधुरै रहेको छ ।

हिउँद र वर्षाको समयमा पानी पर्दा कच्ची सडकमा पानी जमेर हिलाम्य हुँदा सवारीका साधन लगायत मानिसहरूलाई आवत जावतमा समस्या भएको छ । लगातारको वर्षाले कच्ची सडक हिलाम्य हुने गरेपछि बजारवासीलाई दैनिक आवत जावतमा समस्या भएको हो ।

नेपालकै पर्यटकीय गन्तव्य स्थान रारा र ताल्चा विमानस्थल जाने मुख्य प्रवेश द्वारको रुपमा रहेको न्यूरोड बजारमा बर्षेनी पानी पर्दा हिलो जमेर सवारीका साधन लगायत स्थानीय साना स्कुले विद्यार्थीहरूलाई आवत जावतमा कठिनाइ हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले सडक ढलाइको टेण्डर आह्वान गरी श्रेया कन्ट्रक्सन प्रालिसँग मिति २०७८ मङ्सिर १५ गतेदेखि लागु हुने गरी २०७९ जेठ १५ गतेभित्र निर्माणको काम सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो । तर, निर्धारित समयमा काम नसकिएपछि सम्बन्धित निर्माण कम्पनीले सुरुमा लिएको पेश्की रकम रु ४० लाख र बैङ्क ग्यारेन्टी रु ४० लाख गरी ८० लाख असुल उपर गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो ।

सडक बिस्तारको जिम्मा पाएको निर्माण श्रेया कम्पनीका ठेकेदार ध्रुव बहादुर शाहीका अनुसार सडक बिस्तारका क्रममा तोकिएको मापदण्ड अनुसार काम गर्न खोज्दा केही स्थानीयले कामका अवरोध पुर्‍याउने लगायतका कारणबाट सडक बिस्तारमा ढिलाइ भएको दाबी गर्नुभयो ।

हाल उक्त सडकमा स्टक्चरको ३ सय मिटर बाहेक ८० प्रतिशत काम भइसकेको र अब ढलानको काम मात्र बाँकी रहेको श्रेया कम्पनीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button