तपाईँ सुन्दै हुनुहुन्छः

‘सरकारी अस्पतालमा बिहान ८ बजेदेखिको सेवा प्रभावकारी’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताउनुभएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अङ्ग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उहाँले वीर लगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरु भएको बहिरङ्ग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “सीमित स्रोत साधनका बाबजुद संविधानले आम नागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौँ ।”

सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उहाँले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्‍याउने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव देवकुमारी गुरागाँइले भक्तपुर अङ्ग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयत्न गरिरहेको बताउनुभयो ।

भक्तपुरबाट प्रतिनिधित्व गर्नुहुने सांसद दुर्लभ थापाले उपचारका लागि छटपटाइ रहेका मिर्गौला रोग पीडितलाई डायलाइसिस र मिर्गौला प्रत्यारोपण गर्न बजेट व्यवस्थापन, औषधि लगायतमा आफूले सहयोग गरिरहेको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण श्रेष्ठले मस्तिष्क मृत्यु भएपछि अङ्ग दानका लागि प्रेरित गर्न जनचेतना अभियान अघि बढाउने र सकारात्मक सन्देश फैलाउने कार्यमा आफैँ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले अङ्ग दानबारे परम्परागत मान्यतालाई रूपान्तरण गर्दै त्यसमा सकारात्मक नतिजा प्राप्त गर्न जनचेतनालाई अभियानकै रुपमा लैजानुपर्ने धारणा राख्नुभयो ।

अर्का हास्य कलाकार हरिवंश आचार्यले मस्तिष्क मृत्यु भई शरीरका खेर जाने अरू अङ्ग र काम नलाग्ने अङ्ग दान गर्न सके धेरैको अकालमा मृत्यु हुनबाट जोगाउन सकिने भएकाले त्यस विषयमा समाजलाई जागरूक तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

वृत्तचित्रका निर्माण निर्देशक सरना श्रेष्ठले सबैभन्दा ठूलो दान अङ्ग दान हुँदा जनचेतना अभिवृद्धि गर्ने र ज्ञान बाँड्ने कर्ममा सरिक हुन सबैको पहल तथा प्रयत्न आवश्यक रहेको बताउनुभयो ।

मिर्गौला रोग समस्या भई डायलाइसिस र उपचारमा झेल्नुपरेको कठिनाइ, पीडा र खेप्नुपरेको आर्थिक समस्या लगायतका विषय तथा मिर्गौला प्रत्यारोपणको सकारात्मक नतिजा एवं त्यसपछिको सुखद् जीवनसम्बन्धी विषयवस्तु वृत्तचित्रमा समेटिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button