तपाईँ सुन्दै हुनुहुन्छः

सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

धुलिखेल । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताउनुभएको छ । 

काभ्रेपलाञ्चोकको पनौतीस्थित चौकाेटमा आज समाजवादी प्रेस सङ्गठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफू मन्त्री हुने बित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताउनुभएको हो ।

अहिले सङ्घीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । 

मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको जानकारी गराउनुभयो । 

उहाँले सडक सुरक्षा मापदण्ड बनाउने विषयमा गम्भीर भएर छलफल भइरहेको र भौतिक यातायात तथा पूर्वाधार मन्त्रीकै अध्यक्षतामा रोड सेफ्टी काउन्सिल गठन गर्ने बताउनुभयो । “सडक सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “त्यसमा गम्भीरतापूर्वक काम गर्न लागिरहेको छु ।”

सो क्रममा मन्त्री ज्वालाले सूर्यविनायक–धुलिखेल सडकखण्डका लागि अहिले भएको बजेटबाट काम सञ्चालन भइरहने र काममा अवरोध नहुने गरी रकमान्तर गरेर भए पनि बजेटको व्यवस्थापन गरेर कामलाई टुङ्गोमा पुर्‍याइने बताउनुभयो । उहाँले छिट्टै स्मार्ट सवारी सञ्चालक अनुमतिपत्र उपलब्ध गराउने विषयमा छलफल भइरहेको जानकारी गराउनुभयो ।

सूर्यविनायक–रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्ने काम आगामी असोजसम्ममा गरिसक्ने उहाँले बताउनुभयो । साथै सूर्य विनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म दोस्रो चरणमा गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यसले सङ्घीय राजधानी आउने जाने गर्नलाई सुविधा पुग्नेछ । 

त्यस्तै, धुलिखेलदेखि बर्दिबाससम्मको सडकलाई विस्तार गर्ने तयारीमा रहेको जनाउँदै उहाँले अब छिट्टै हुन लागेको आफ्नो जापान भ्रमणले त्यसको टुङ्गो लाग्ने बताउनुभयो । 

त्यस्तै, सडकको क्षमताभन्दा बढी भार भएका सवारीसाधन गुडाएर सडकको क्षति गराइ अस्तव्यस्त गराउने अवस्थालाई न्यूनीकरण गर्न तौल पुल प्रयोगमा ल्याउने व्यवस्था मिलाइने उहाँले जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button