सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्ति निरुत्साहित
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टाले रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क लिन थालेपछि सीमावर्ती भारतीय बजारमा घरायसी सामान किन्न जाने निरुत्साहित भएका छन् ।
पूर्वी नाकामा परिचालन गरिएका भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतबाट किनमेल गरेर फर्केकालाई भन्सार शुल्क तिराउन नाकामै जाँचमा कडाइ गर्न थालेका छन् । भन्सार र सुरक्षाकर्मीको कडाइपछि सीमावर्ती नेपाली बजारमा चहलपहल बढेको छ ।
भन्सार विभागको निर्देशनअनुसार यो नियम कडाइका साथ लागू गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । “साउन १ गतेदेखि नै हामीले यो नियम लागू गरिसकेका छौँ”, उहाँले नयाँ नियमबारे जानकारी दिँदै भन्नुभयो, “देशभरका सीमा नाकामा यो नियम लागू भएको हो । कसैले जबरजस्ती भन्सार नतिरी लैजान खोजे सामान जफत हुनेछ ।”
सीमावर्ती भारतीय बजार पानी ट्याङ्की, नक्सलबाडी र सिलिगुढीबाट किनमेल गरेर आउनेले यसअघि काँकडभिट्टा नाकाबाट भन्सार शुल्क नतिरी घरायसी सामान भित्र्याउँदै आएका थिए । भन्सारको कडाइपछि सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने निरुत्साहित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्