तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्चीको चालुभन्दा पुँजीगत खर्च बढी

सिन्धुपाल्चोक । सरकारले विकासका लागि छुट्टयाएको बजेटको ठुलो हिस्सा खर्च गर्न नसकेर प्रत्येक वर्ष ठूलो समस्या हुने गर्छ  ।  

नेपालमा चालू खर्च बढी र पुँजीगत खर्च कम भयो भनेर हरेक बर्ष आलोचना पनि हुँदै आएको छ । तर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले चालुभन्दा पुँजीगत खर्च बढी गरेको छ । नगरपालिकाले चालुभन्दा पुँजीगत खर्च बढी गरेको लेखा अधिकृत मुरारी पुडासैनीले जानकारी दिनुभयो । 

नगरपालिकाको २०७९/०८० मा चालु तर्फ विनियोजित रकमको ८०.६७ प्रतिशत रकम खर्च भएको छ भने पुँजीगततर्फ विनियोजित रकमको ८०.७६ प्रतिशत खर्च भएको अधिकृत पुडासैनीले जानकारी दिनुभयो । 

नगरपालिकाले २०७९/०८०मा चालुतर्फ ९५ करोड ३ लाख १९ हजार विनियोजन गरेकोमा ७६ करोड ६६ लाख ५० हजार खर्च गरेको छ । 

त्यस्तै पुँजीगत तर्फ ७८ करोड ५३ लाख ३२ हजार खर्च भएको हो । यसरी हेर्दा नगरपालिकाको चालुभन्दा पुँजीगत खर्च बढी गरेको देखिन्छ । 

मेलम्चीले २०७८/०७९ मा चालुतर्फ ७६.१६ प्रतिशत र पुँजीगत तर्फ ५४.२ प्रतिशत मात्रै खर्च गरेको नगरपालिकाले २०७९/०८० मा भने उल्लेख्य सुधार गरेको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । 

देशभरिकै संघ, प्रदेश र स्थानीय तहको बजेटमा चालुभन्दा पुँजीगत खर्च बढी गर्ने भनिए पनि अझैसम्म कार्यान्वयन हुन सकेको छैन तर मेलम्ची नगरपालिकाले यसलाई प्रमाणित गरिदिएको छ । 

सरकारी तथ्याङ्क हेर्दा सम्भव चालुभन्दा पुँजीगत खर्च बढी गर्ने मेलम्ची नगरपालिका देशकै पहिलो नगरपालिका हुनसक्ने अनुमान समेत गर्न सकिन्छ ।

गत आर्थिक वर्षमा संघीय सरकारको चालुतर्फ ८५, पुँजीगततर्फ ६१ दशमलव ४४ र वित्तीय व्यवस्थातर्फ ८२ दशमलव ५८ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कबाट देखिन्छ । 

नगरपालिकाका प्रमुख आइतमान तामाङले समीक्षा बैठकमा आफ्नो कार्यकालको पहिलो वर्षमा यो उपलब्धी हासिल भएकोमा खुशि ब्यक्त गर्दै सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरूमा खुशि धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी वर्षमा चालुभन्दा पुँजी खर्च बढाउनका लागि नगरपालिका लागी परेको बताउनुभयो । 

यो उपलब्धी हासिल गर्नका लागि नगरपालिकाका जनप्रतिनिधिहरू, सम्पुर्ण शाखाका कर्मचारी,इन्जिनियर तथा प्राविधिक टोली उपभोक्ता समिति लगायतको निरन्तर प्रयासबाट मात्र सम्भव भएको नगर उपप्रमुख उमा प्रधानले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button