तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुर–जयनगर रेल सेवा महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा  

जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले महोत्तरीको बिजलपुरा जयनगर रेल सेवाको आज उद्घाटन गर्नुभएको छ । 

आज दिउँसो १ः३० बजे भंगाहा रेल्वे स्टेसनमा मन्त्री ज्वालाले हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गर्नुभएको छ । 

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप जनकपुरबाट पश्चिम १७ किलोमिटर भंगाहा नगरपालिकाको विजलपुरासम्म सेवा विस्तार भएको छ । 

जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगाहाको विजलपुरासम्म रेल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताहरू लाभान्वित भएको छ । 

महोत्तरीको भंगाहाको विजलपुरासम्म रेल सेवा विस्तार गर्नका लागि रेललाई नयाँ बेहुली झैँ सिँगारिएको थियो । ब्रोडगेज रेल हेर्न स्थानीयहरूको ठूलो घुइँचो रहेको थियो । 

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो । थप १७ किलोमिटरमा सेवा विस्तार भएसँगै अब ५२ किलोमिटरमा नियमित रुपमा रेल सेवा सञ्चालन हुने भएको छ । 

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको ईर्कान कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते उक्त क्षेत्रका भाग हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो । सुरुमा दुई पटक मात्र सेवा दिने गरेको रेल सेवा गत मंसिरमा विवाह पञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चार पटकसम्म सेवा दिँदै आएको थियो । 

अब भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झाले जानकारी दिनुभयो । 

भंगाहा स्टेशनबाट मात्र दिनको दुई पटक अर्थात् साँझ र बिहान सेवा दिने कम्पनीले जनाएको छ । 

उद्घाटन समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री गोविन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर सञ्जीव कुमार साह, भारतीय राजदूतावासका प्रतिनिधि लगायतको सहभागिता थियो ।

उद्घाटन कार्यक्रममा मन्त्री प्रकाश ज्वालाले रेल्वे सेवाको विस्तारले यस क्षेत्रको जनतालाई विश्वासिलो तथा भरपर्दो यातायातको सेवा उपलब्ध भएकोमा खुशी व्यक्त गर्दै यसले यस भेगको जनताको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । 

पहिला भारतको जयनगर जनकपुर हुँदै महोत्तरीको भंगाहाको बिजलपुरासम्म न्यारोगेज रेल सेवा सञ्चालन हुने गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button