तपाईँ सुन्दै हुनुहुन्छः

झापामा खोलामा डुबेर दुई जनाको मृत्यु

भद्रपुर, झापा I झापामा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको गौरादह नगरपालिका वडा नंं २ हाँसखोरा टोल निवासी १३ वर्षीय एन्जल ताजपुरियाको स्थानीय कृष्णे खोलामा पौडी खेल्ने क्रममा शनिवार डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । 

गोविन्द ताजपुरियाका छोरा एन्जल ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । पौडी खेल्दाखेल्दै एन्जल बेपत्ता भएपछि उनीसँगै गएका साथीहरू आत्तिँदै नजिकैको गाउँतिर खबर गर्न गएका थिए । 

त्यस्तै झापाको शिवसताक्षी १० स्थित कनकाई नदीमा एक पुरुषको शव फेला परेको छ ।

कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । शनिवार साँझ घाँस काट्न गएका महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ७० वर्षको जस्तो देखिने दौरा लगाएको अवस्थामा कपाल फुलेको मंगोलियन समुदायको वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button