सांसदहरुले उठाएका विषयहरूलाई कार्यक्रममा समेटेर लैजाने खेलकुद मन्त्री लिम्बुको प्रतिबद्धता

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयहरूलाई कार्यक्रममा समेटेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री लिम्बुले एक वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको साहसिक पर्वतीय खेलको आयोजना गरेर खेल क्षेत्रको विकास गर्ने सङ्कल्पका साथ बजेट व्यवस्था गरिएको जानकारी गराउँदै खेल र पर्यटनलाई जोड्ने गरी मन्त्रालयले योजना बनाइरहेको पनि बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्री लिम्बुले विद्यालय स्तरबाटै खेलसम्बन्धी शिक्षा दिने, खेल क्षेत्रको प्रवद्र्धन गर्ने, खेलाडीहरूको बिमा गर्ने नीति बनाउने लगायतका कार्यक्रम प्राथमिकतामा राखिएको बताउनु भयो ।
उहाँले खेल क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न छुट्टै इकाई निर्माण गरेर समयमा नै पूर्वाधार विकास गर्ने कार्यक्रम अगाडी बढाइएको, क्रिकेट खेललाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको र यसको पूर्वाधार निर्माण गर्न मन्त्रालयले कार्यक्रम अगाडी बढाइएको पनि बताउनु भयो ।
मन्त्री लिम्बुले स्वरोजगार कार्यक्रम छरिएर रहेको र सक्ने र पहुँचवालामा मात्रै कार्यक्रम पुगेको भन्दै स्वरोजगार कार्यक्रमलाई एकै ठाउँमा ल्याएर एकद्वारा गर्न सके युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बनाउन सकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्