‘सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको छ’
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले बढ्दो व्यापार घाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताउनुभयो ।
सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन उहाँले आम उपभोक्तालाई आग्रह गर्नुभयो । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताउनुभयो । उहाँले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराउनुभयो ।
अर्थमन्त्री डा महतले बैङ्क तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताउनुभयो । उहाँले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैङ्कलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्