तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली सिँचाइ तेस्रो चरण : परीक्षण गरिँदै मूल नहर

वेदकोट । निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्मको मूल नहर परीक्षण गरिन लागेको हो ।

शुक्रबार (भोलि)देखि एक साता ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडेर परीक्षण गरिने आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो ।

महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गरिने भएकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना नानीबाली, चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुन खोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो । नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ ।

आयोजनाअन्तर्गत मूल नहर २८ किलोमिटर शुक्लाफाँटाको फुलेलीबाट कैलालीको गोदावरी खोला ४८ किलोमिटरसम्म निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उहाँले बताउनुभयो । आगामी आव २०८०/८१ का लागि आयोजनामा रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button