तपाईँ सुन्दै हुनुहुन्छः

अभियोजनलाई विश्वसनीय बनाउनुपर्छ : महान्यायाधिवक्ता पोखरेल

पाँचथर । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले अपराधका घटनाहरूमा प्रहरी र सरकारी वकिलबाट हुने अनुसन्धान र अभियोजनलाई विश्वसनीय र प्रभावकारी बनाउनु जरुरी रहेको बताउनुभएको छ ।

अनुसन्धान र अभियोजन विश्वसनीय र प्रभावकारी हुन सके मात्रै पीडकले सजाय र पीडितले न्याय पाउन सक्ने भन्दै उहाँले त्यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रयास गरिरहेको बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय पाँचथरको नवनिर्मित भवनको आज फिदिममा उद्घाटन गर्दै उहाँले विगतदेखिको प्रक्रियाका रुपमा अनुसन्धान र अभियोजनलाई विश्वसनीय र प्रभावकारी बनाउने अभियान चलिरहेको बताउनुभयो ।

अपराध स्वीकार गर्ने अभियुक्तलाई ५० प्रतिशत सजाय छुट दिने कानुनी व्यवस्थाको कार्यान्वयनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल ऋद्धिनाथ निरौलाका अनुसार भ्याटबाहेक रु दुई करोड ७२ लाख चार हजारको लागतमा नयाँ भवन निर्माणको ठेक्का भएको थियो । निर्माण सम्पन्न हुँदा ६ प्रतिशतले लागतको मूल्याङ्कन घट्न गई रु दुई करोड ५३ लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । २०७७ साल भदौ ५ गते भएको ठेक्का सम्झौताअनुसार दुई पटक म्याद थप गरी नयाँ भवन निर्माण सम्पन्न भएको हो ।

तीनतले नयाँ भवनमा २० वटा कोठाहरू रहेका छन् । पुरानो भवन रहेको स्थानमा सो भवन भत्काई नयाँ भवन निर्माण भएको हो । भवनमा एसी, सिसी क्यामेरा तथा केही फर्निचर समेत निर्माण कम्पनीले व्यवस्था गरिदिएको छ । यद्यपि कम्पाउन्ड पर्खाल पूर्ण हुन बाँकी रहेको जिल्ला न्यायाधिवक्ता निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button