प्रतिनिधिसभा बैठक : बजेटमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीहरूले जवाफ दिन सुरु

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम प्रारम्भ भएको छ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत गृह मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री नारायण काजी श्रेष्ठले सांसदहरुले दिनुभएको सुझावलाई आफूले सकारात्मक ढंगले ग्रहण गर्ने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले नागरिकको जीउ धनको सुरक्षा र मुलुकमा शान्ति सुरक्षा कायम गर्न मन्त्रालय दृढ रहेको बताउँदै सेवा प्रवाह, विकास निर्माण र सुशासन प्रवद्र्धनमा गृह मन्त्रालय जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले कतै पनि खर्च देखाउन नपर्ने गरी सुराकीबापत रकम कटौती गरिएको बताउँदै मिटरव्याजी पीडितको न्यायका लागि ठोस कार्य अघि बढाएको सदनलाई जानकारी गराउनुभयो ।
भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाएको र राष्ट्रिय परिचयपत्र नीजि कम्पनीलाई दिने सम्झौता खारेज गरिएको जानकारी दिनुभयो ।
आजको बैठकमा गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची छ ।
यसअघि, आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको थियो ।
बैठकमा सत्तापक्षका संसदहरुले उपराष्ट्रपतिको कार्यालयलाई विनियोजन शीर्षक उपयुक्त भएको भन्दै छलफललाई सार्थक बनाउन र उठेका विषयहरूलाई आगामी दिनमा समेट्दै जान सकिने बताउनुभयो ।
सांसदहरुले प्रतिपक्ष र सत्तापक्षको विरोध र समर्थन भएपनि मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउने विषय साझा सङ्कल्प आवश्यक रहेको बताउनुभयो ।
प्रतिपक्षी दलका संसदहरुले राज्यको सम्पत्तिको हिसाब किताब हुनुपर्ने भन्दै राजश्व लगायतको तथ्याङ्क नै नमिलेकाले खर्चको आधार र औचित्य पुष्टि हुन नसकेको बताउनुभयो ।
सांसदहरुले उपराष्ट्रपतिको कार्यालयको औचित्य पुष्टि हुनुपर्ने भन्दै नागरिकको करको सदुपयोग हुनुपर्ने बताउनुभयो ।
बैठकमा उपराष्ट्रपतिको कार्यालय शीर्षकमा सांसद अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो ।
बैठक सुरु भएलगत्तै आकस्मिक समयमा सांसदहरुले भोजपुर जिल्लाको आमचोक गाउँपालिका वडा नं. १ की सावित्रा विकको आफ्नै श्रीमानले हत्या गरेको, सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिकामा आएको बाढीपहिरोले जनजीवन प्रभावित भएको, बागलुङ जिल्लाको ढोरपाटनमा परेको चट्याङका कारण मृत्यु भएको र सडक दुर्घटनामा घाइतेको उपचार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्