विपतको क्षेत्रमा जिम्मेवार ढंगले काम गर्दैछौ : नगर प्रमुख विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपत जोखिम न्यूनीकरणका लागि गम्भीर र जिम्मेवार ढंगले काम गरिरहेको बताउनुभएको छ । विष्टले सम्भावित विपतको पहिचान गरी पूर्व तयारी गर्नेदेखि शीघ्र प्रतिकार्यका लागि नेपालगञ्ज उपमहानगरपालिका योजनाबद्ध ढंगले अघि बढेको बताउनुभयो । उहाँले नीति, योजना, कानुन निर्माणदेखि कार्यान्वयनको पाटोलाई व्यवहारिक बनाउन द्रुत गतिमा काम गरिरहेको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा मनसुन पूर्व तयारी सम्बन्धि कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले विपतका सवालहरूलाई आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा पनि प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दक्षिण कोरिया भ्रमणको अनुभव प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले कोरियामा सहर उत्थानशील कार्यक्रमको सिकाई अनुभव बताउनुभएको थियो । केही समय अगाडि उपमहानगरपालिकाबाट नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रिजाल लगायतको टोली कोरिया भ्रमणमा गएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले विपत जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्यमा स्थानीय तह र वडा स्तरको भूमिका र जिम्मेवारी र परामर्शदाता लोकेन्द्र भट्टले नेपालगञ्ज उपमहानगरपालिकाले तयार पारेको स्थानीय विपत तथा जलवायु उत्थानशील योजनाको प्रस्तुतीकरण गर्नुभएको थियो । वातावरण शाखा प्रमुख प्रकाश डिसीले विपद व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिकाले गरेका प्रयासहरूबारे जानकारी गराउनुभएको थियो । विषयगत क्षेत्र तथा वडा स्तरको योजना तर्जुमामा समावेश गर्न सकिने योजनाहरूको ढाँचाका विषयमा आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्