तपाईँ सुन्दै हुनुहुन्छः

रानी जमरा कुलरीया सिचाई आयोजनाको ६० प्रतिशत काम सकियो 

टीकापुर, कैलाली । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिचाई आयोजनाको करिब ६० प्रतिशत काम सकिएको छ । आर्थिक वर्ष २०७७/०७८ बाट काम शुरु भई २०८०/०८१ मा काम सम्पन्न गर्ने लक्ष्य भए पनि अहिलेसम्म ६० प्रतिशत काम मात्र सकिएको छ । 

आयोजनाको गुरु योजना अनुसार २७ अर्ब ७५ करोड रुपैयाँ लागत रहेकोमा अहिलेसम्म करिब १८ अर्ब रुपैयाँ खर्च भइसकेको छ । अरू रकम खर्च हुन बाँकी रहेको र तोकिएको समय भन्दा काम अलि ढिलो सम्पन्न हुने देखिएको आयोजना प्रमुख केदार कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

आयोजनाका पहिलो चरणका सबै कामहरू सम्पन्न भइसकेका र अहिले दोस्रो चरणका कामहरू धमाधम भइरहेका छन् । दोस्रो चरण अन्तर्गत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदिका ३ स्थानमा पुल निर्माणका कामहरू भइरहेका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरीया तिरका नहरमा पानी सञ्चालन गरेको छ । पहिले वैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहरको बीचमा बनिरहेको विद्युत् गृहको केही काम गर्नु पर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो । अहिले जेठ ३१ गतेदेखि रानी, जमरा र कुलरीया नहरमा करिब ४५ क्यूमेक्स पानी सञ्चालन गरिएको र लम्की तिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताउनुभयो । 

आयोजना अन्तर्गत ४.७ मेगावाट क्षमताको विद्युत् पनि उत्पादन हुने तयारीमा रहेको छ । त्यो निर्माणाधीन विद्युत् उत्पादनको काम पनि यसै आर्थिक वर्ष भित्र सक्ने आयोजनाको लक्ष्य रहेको छ । यसै आर्थिक वर्षको असोज कार्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुर्‍याएकोले केही काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । 

यसवर्ष पनि कर्णाली नदी किनारमा जथाभाबी उत्खनन् भइरहेकाले त्यो समस्या दोहोरिने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिक देखि सरोकारवाला निकाय सजग हुनु पर्ने आयोजना प्रमुख श्रेष्ठले सुझाव दिनु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button