झापाको कनकाईमा धेरै कर तिर्ने करदातालाई उपहार

भद्रपुर, झापा । झापाको कनकाई नगरपालिकाले धेरै कर तिर्ने नगरवासीलाई उपहार दिन थालेको छ ।
नगरपालिकाले नगरवासीलाई कर तिर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्युतीय चुल्हो प्रदान गर्न थालेको हो । एकमुष्ठ २७ सय रुपैयाँ भन्दा बढी कर तिर्ने करदातालाई नगरपालिकाले एक वर्षको वारेन्टी भएको पाँच हजार मूल्यको चुल्हो दिन थालेको छ ।
नगर प्रमुख राजेन्द्र पोखरेलले समयमै सबैभन्दा धेरै सम्पत्ति कर तिर्ने करदातालाई इन्डक्सन चुल्हो उपहार स्वरूप प्रदान गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा नगरका ९ वटै वडाका ६९७ जना उत्कृष्ट करदाता नगरवासीलाई इन्डक्सन चुल्हो प्रदान गरिने उहाँको भनाइ छ । सोही क्रममा आज वडा नं. १ बाट चुल्हो उपहार कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा नगरप्रमुख पोखरेल, वडाध्यक्ष सुशील कुमार पोखरेललगायतका जनप्रतिनिधिले इन्डक्सन चुल्हो प्रदान गर्नुभयो । कार्यक्रममा १६७ जना उत्कृष्ट करदातालाई चुल्हो प्रदान गरिएको थियो ।
क्रमशः उत्कृष्ट करदातालाई अन्य उपहार प्रदान गरिने नगरपालिकाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसले नगरवासीलाई समयमै वास्तविक कर तिर्न प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्