तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका स्रोत साधनको पहिचान गरी लगानी गर्न मुख्यमन्त्रीको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले देशका वित्तीय संस्थाहरू अझै जनतासम्म पुग्न नसकेको बताउनुभएको छ ।

उहाँले वित्तीय संस्थाहरू शहर, राजमार्ग, घराना केन्द्रित भएकै कारणले प्राकृतिक स्रोत साधनमाथि उचित ढंगले लगानी हुन नसकेको बताउनुभयो ।

वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले नागरिक लगानी कोषलाई कर्णालीको स्रोत, साधन पहिचान गरी लगानी गर्न सुझाव दिनुभयो ।

उहाँले कर्णालीको गरिबी अन्त्यका लागि प्रदेश सरकार कृषि तथा वन पैदावारमा आधारित उद्योगलाई प्रोत्साहन गर्न उपलब्ध स्रोतसाधनको परिचालन गर्न लागेको समेत जानकारी दिनुभयो ।

कर्णालीमा वित्तीय जागरण पैदा गर्नुपर्ने, उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने, जनशक्तिको सही ढंगले परिचालन गर्नुपर्ने, प्राकृतिक स्रोत साधनलाई व्यवस्थित रूपले उपयोग गर्न केन्द्रीकृत र एकीकृत हुनुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

समृद्ध र सुखारी कर्णाली अभियान अन्तर्गत प्रदेश सरकारले यस वर्षदेखि वार्षिक १० हजार बेरोजगारलाई स्वरोजगार बनाउने योजना समेत अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले लगानीका अवसर बढाउँदै पुँजी बजारको विकासका लागि कर्णालीमा कोषले आफ्नो क्षेत्र विस्तार गर्न लागेको बताउनुभयो । उहाँले कोषद्वारा उपलब्ध १४ वटा स्किम मार्फत सेवाग्राहीलाई लाभ लिन समेत आग्रह गर्नुभयो ।

कोषका कार्यकारी निर्देशक रमन नेपालले कर्णालीबाट सङ्कलित पूँजी कर्णालीकै विकासमा लगाउन कम जोखिम परियोजनाको पहिचान गरि पूर्वाधार क्षेत्रमा लगानी लगाइने बताउनुभयो । उहाँले २ सय ३० अर्ब बचत र लगानी गर्दै कोषले देशभर आफ्ना शाखाहरू विस्तार गर्न लागेको समेत जानकारी दिनुभयो ।

नागरिक लगानी कोषले आजबाट सुर्खेतमा विधिवत् रूपले कार्यालय सञ्चालनमा ल्याएर कर्णालीका सेवाग्राहीलाई सेवा लिन काठमाडौँ पुग्नुपर्ने बाध्यता अन्त्य गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button