लागु औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले लागु औषधको दुर्व्यसन तथा ओसारपसार कर्णालीका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।

गृह मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रणसम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा मुख्यमन्त्री शर्माले लागुऔषध दुरुपयोग तथा ओसार पसार बहुपक्षीय सरोकारको विषय भएकाले कर्णाली लागि पनि चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले लागुऔषध समस्या तथा अन्तर्निहित चुनौतीको तुलनामा हालसम्म गरिएका प्रयासहरू पर्याप्त नहुनु, खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण बताउनुभयो ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कानुनको सफल कार्यान्वयनसँगै रोकथाम, नियन्त्रणका प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले लागुऔषध दुरुपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलिया र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी गोपालचन्द्र भट्टराईले हाल देशभर लागु औषध दुर्व्यसनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका ७९ वटै गाउँ तथा नगरपालिकाका प्रमुख/उपप्रमुख, विद्यालयका शिक्षक, स्वास्थ्य तथा औषधी क्षेत्रका विज्ञ, पुनर्स्थापना केन्द्रका सञ्चालक लगायतको सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्