रेल्वे रोडको सडक किनारमा ४ सय बिरुवा रोपियो

बीरगंज । बीरगंजलाई हरित शहर बनाउने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको स)युक्त आयोजनामा आज वीरगञ्जको रेल्वे रोड सडकखण्डमा वृक्षारोपण गरिएको छ ।
सडकको दुवै किनारामा म्यागो स्ट्रीक ३ सय थान, कपुर ५० थान र निमको बिरुवा ५० थान गरी जम्मा ४ सय बिरुवा रोपिएको ग्रिन सिटी सामुदायिक केन्द्रका प्रमुख प्रकाश खेतानले जानकारी दिनुभयो ।

रेल्वे सडक खण्डको वीरगन्ज महानगरपालिका वडा न. २ स्थित ईदगाह चोकदेखि घण्टाघरसम्म ‘जनताको रहर हरित शहर’ बनाउने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम अन्तरगत पहिलो चरणमा रेल्वे सडकखण्ड, बाईपास सडकखण्ड, विभिन्न लिङ्क रोडहरूमा ४ हजार बिरुवा रोपिने जनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका केन्द्रिय अध्यक्ष डा.किरण पौडेलले वृक्षारोपणका लागि वीरगञ्जमा देखिएको जनसहभागिताले वीरगञ्ज आगामी दिनमा हरित सहर बन्ने अपेक्षा आफूले गरेको बताउँदै बिरुवा रोपेर मात्र होइन संरक्षणका लागि समेत सम्बन्धित पक्षले उत्तिकै जबाफदेही बहन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले अहिले जलवायु परिवर्तनको असरले गर्दा पुरै संसार प्रभावित भएको बताउँदै बढ्दो तापक्रमलाई नियन्त्रण गर्न वृक्षरोपणको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी भिमकानत पौडेल, शिव प्रसाद लाम्साल, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया, नेपाली सेनाका १३ नम्बर गण वीरगञ्जका सहायक सेनानी सुदर्शन उपाध्याय वन डिभिजन कार्यालय पर्साका प्रमुख सुभाष चन्द्र दास, वन विभागका पूर्व महानिर्देशक गौरी शङ्कर तिमला लगायत वीरगञ्जका विभिन्न सामुदायिक सङ्घसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्