तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका बैङ्क तथा वित्तीय संस्थाबाट ३ खर्ब ५१ अर्ब कर्जा लगानी 

पोखरा । गण्डकी प्रदेशका क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाबाट ३ खर्ब ५१ अर्ब ९२ करोड प्रदेशमा कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैङ्क पोखरा शाखाले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ्कमा उक्त कर्जा लगानी भएको उल्लेख गरिएको छ । 

गण्डकी प्रदेशमा क, ख र ग वर्गका बैङ्कहरूको चैत मसान्तसम्म कुल निक्षेप चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४ खर्ब ३९ अर्ब  ७ करोड रहेको नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालयकी प्रधान सहायक तारा पोखरेलले बताइन्। प्रदेशमा क वर्गका बैंकका शाखा ५ सय ९९, ख वर्गका बैंकका शाखा १ सय ९०, ग वर्गका बैंकका शाखा ३६ र घ वर्गका वित्तीय संस्थाको सङ्ख्या ५ सय ९९ रहेका छन् । 

गण्डकी प्रदेशमा निर्माणको क्षेत्रमा उक्त बैङ्कहरूले आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ अर्ब ३९ करोड लगानी भएको राष्ट्र बैंकले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रदेशमा ऊर्जाको क्षेत्रमा ५८ करोड मात्र लगानी भएको उल्लेख गरिएको छ यद्यपि प्रदेशमा भएका बैङ्कहरूले केहीले केन्द्रबाटै कर्जा लगानी गरेको कारण प्रदेशमा यसको लगानी कम देखिएको बैंकर्सहरुले बताउँछन्। गण्डकी प्रदेशमा सेवा क्षेत्रमा भने २ खर्ब ६६ अर्ब ९६ करोड लगानी भएको राष्ट्र बैङ्क पोखरा कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेशको अन्य प्रदेशको भन्दा केही उच्च आर्थिक वृद्धि दर रहेको छ । प्रदेशको ३.७४ प्रतिशत आर्थिक वृद्धिदर रहेको छ । चालु आर्थिक बर्ष २०७९÷८० मा राष्ट्रिय आर्थिक वृद्धि दर हेर्दा २.१६ प्रतिशत रहेको छ भने बागमती प्रदेशको आर्थिक वृद्धिदर १.७७ प्रतिशत मात्र रहेको उल्लेख गरिएको छ ।

चालु आर्थिक बर्ष २०७९/८० को चैत मसान्तसम्म गण्डकी प्रदेशको ९ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा योगदान रहेको छ । प्रदेशले ४ खर्ब ८२ अर्बको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिएको प्रधान सहायक पोखरेलले बताइन्। गण्डकी प्रदेशको प्रति व्यक्ति आम्दानी १ हजार ४ सय ९२ अमेरिकी डलर रहेको राष्ट्र बैंकले जनाएको छ ।  

गण्डकी प्रदेशका ८५ वटै पालिकामा बैङ्कको पहुँच पुगेको छ । प्रदेशमा घ वर्गसम्मका बैङ्क तथा वित्तीय संस्थाको शाखा १ हजार ४ सय २४ वटा पुगेको राष्ट्र बैंकले जनाएको छ । गण्डकी प्रदेशमा सहुलियतपूर्ण कर्जा २९ अर्ब १५ करोड कर्जा लगानी भएको छ । 

कृषि, सेवा, उद्योग लगायतका १४ शीर्षकमा करिब ५ प्रतिशतको सहुलियतपूर्ण कर्जा लगानी भएको हो । कृषि क्षेत्र तर्फ प्रवाहित कर्जामा २९ अर्ब १८ करोड लगानी भएको राष्ट्र बैंकले जनाएको छ । 

पर्यटनको क्षेत्रमा गण्डकी प्रदेशमा भने १९ अर्ब ७९ करोड लगानी भएको छ । गण्डकी प्रदेशमा ९.६९ प्रतिशत पर्यटन क्षेत्रमा लगानी भएको छ भने २ खर्ब ४ अर्ब १६ करोड राष्ट्रिय स्तरमा पर्यटनको क्षेत्रमा लगानी भएको छ । प्रदेशमा औद्योगिक क्षेत्रमा ३५ अर्ब १२ करोड लगानी भएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button