विदेशबाट फर्किएकाहरूको युवा सञ्जाल गठन
मकवानपुर । बागमती प्रदेश युवा परिषद्ले विदेशबाट फर्किएकाहरूको युवा सञ्जाल गठन गरेको छ ।
प्रदेशका १३ जिल्लाका युवाहरूको सहभागितामा शनिबार हेटौँडामा आयोजित भेलाले दोलखाका हरि खत्रीको अध्यक्षतामा ३३ सदस्य युवा सञ्जाल गठन गरेको हो ।

बागमती प्रदेश प्रदेश युवा परिषद्ले फरक सोँच र क्षमता भएका युवाहरूलाई रोजगारी, उद्यमशीलता प्रवर्द्धन र उत्पादनमा जोडेर स्वदेशमा नै आत्मनिर्भर भई विदेश पलायनलाई न्यूनीकरण र उत्प्रेरित गर्ने उद्देश्यका साथ सञ्जाल गठन गरिएको परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो ।

युवा परिषद्को सूचना अनुसार प्रदेशका १३ जिल्लाबाट अनलाइन तथा कार्यालयमा उपस्थित भई आवेदन दिएकामध्ये १०० जनाको उपस्थितिमा सञ्जाल गठन गरिएको हो । नवगठित सञ्जाललाई परिचालन गर्ने गरि शनिबार अभिमुखीकरण समेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईको सभाध्यक्षता एवम् बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको अभिमुखीकरण र परिचालन कार्यक्रममा मन्त्री मोक्तानले विदेशबाट फर्किएर स्वदेशमा नै केही गर्ने लक्ष्य र योजना भएका युवाहरूलाई स्वदेशमा नै उद्यमशीलता र रोजगारी दिने योजना तथा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्