तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ 

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०÷०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । 

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न सरकारलाई माग गर्नुभयो । 

अध्यक्ष ओलीले अर्थतन्त्र गतिशिल बनाउने, रोजगारी सिर्जना गर्ने, औद्योगीकरणको आधार सिर्जना गर्ने, शिक्षा स्वास्थ्य लगायतका सामाजिक सेवाका क्षेत्रमा आम जनताको पहुँच पुर्‍याउने र राष्ट्रिय सामर्थ्य बढाउने उत्साहका साथ नीति तथा कार्यक्रम आउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रममा सरकारले देश आर्थिक रुपमा असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाउनुभयो । 

उहाँले उच्च दरको आर्थिक वृद्धिदर हासिल गर्ने, उत्पादन क्षेत्रमा लगानी कसरी बढाउने, लगानीका स्रोतहरू कसरी जुटाउने स्रोतको बचत कसरी गर्ने भन्ने जस्ता योजनाहरू नीति तथा कार्यक्रममा आउन नसकेको बताउनुभयो ।

उहाँले सार्वजनिक वित्त प्रणाली र वित्त क्षेत्रमा अनुशासन कसरी कायम गर्ने, बाह्य क्षेत्रलाई कसरी सन्तुलित बनाउने सङ्कटापन्न अर्थतन्त्रलाई पुनर्जीवन दिई सुदृढ बनाउँदै आर्थिक स्थायित्व कायम गर्ने विषयमा नीति तथा कार्यक्रमले कुनै योजना दिन नसकेको आरोप समेत लगाउनुभयो । 

अध्यक्ष ओलीले संवाद सहमति र सहकार्यबाट अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण समेत गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button