सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल बिस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीद्वारा शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले आज नेकपा माओवादी केन्द्रका रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, झपट बहादुर साउदलाई सामाजिक विकास मन्त्री र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यसैगरी माओवादी केन्द्रका गितादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नुभएको छ । उक्त मन्त्रालय सत्ता साझेदार दल नागरिक उन्मुक्तिका लागि खाली राखिएको बताइएको छ ।

दुई वटा मन्त्रालय दाबी गरेको नागरिक उन्मुक्ति पार्टीले भने आज भएको मन्त्रिमण्डल विस्तार (सरकार)मा सहभागी भएन ।
यसैबीच नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्रीहरू धामी, साउद, सिंहलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।
यसैगरी नवनियुक्त राज्यमन्त्री मालले मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभयो ।
शपथग्रहण समारोहका मुख्यमन्त्री, सभामुख, पूर्वमुख्यमन्त्री, मन्त्रीगण, उपसभामुख, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि पदबाट राजीनामा दिएपश्चात् प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । मुख्यमन्त्री शाहले त्यसवेला काँग्रेसका प्रकाश बहादुर देउवालाई भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहलाई आर्थिक मामिला मन्त्री नियुक्त गर्नु भएको थियो ।
फागुन २१ गते प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएका मुख्यमन्त्री शाहलाई काँग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एस, स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस १९, माओवादी केन्द्र ११ सभामुख(सहित), एमाले १०, नागरिक उन्मुक्ति ७, एस ४, राप्रपा १ र स्वतन्त्र १ जना रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्