तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गरिने’

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आयोजित पूर्व बजेट अन्तरक्रियामा उहाँले निजी क्षेत्रको सहकार्यमा प्रदेशको कृषिको यान्त्रिकीकरण, उद्योग स्थापना, आयात प्रतिस्थापन र रोजगारी सिर्जना गरिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटमा निजी क्षेत्रले दिएको आर्थिक सुधारको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय पुँजीको पर्याप्त विकास हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले करको दायरालाई फराकिलो बनाउने कार्यक्रममा निजी क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहलाई स्वावलम्बन, समक्ष जनशक्ति बनाई क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै राजश्व सङ्कलन, पूँजीगत खर्चमा रहेका कमजोरी सुधार गर्नु आवश्यक रहेको विचार राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले विराटनगरमा स्वदेशी उत्पादनको प्रदर्शनका लागि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा प्रदेश लगानी प्राधिकरणका प्रमुख डा सरोज कोइराला, महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल, पर्यटन व्यवसायी भविस श्रेष्ठ, डा जगदीशचन्द्र पोखरेल लगायतले डिजिटल प्रदेश र निजी क्षेत्र मैत्री बजेट आउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उद्योग, व्यापारीले नेपाली सवारी साधनलाई भारतमा प्रवेशका लागि लागि स्थानीय स्तरमा अनुमतिपत्र पाउनुपर्ने, विराटनगरमा चियाको अक्सन हुनुपर्ने, पौराणिक तथ्यमा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा जोड दिनुपर्ने, बैङ्क ब्याज पुरानो स्थितिमा ल्याउनुपर्ने, विद्युतीय सवारी साधनमा पूर्ण भन्सार छुट हुनुपर्ने, कृषिमा अनुदान वृद्धि लगायतका कार्य आगामी वर्षको नीति कार्यक्रम र बजेटमा ल्याउनुपर्ने सुझाव दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button