कांग्रेसकी नेतृ राणामाथि नियतबस लाञ्छना लगाइएकाे भन्दै महिला सङ्घको आपत्ति

काठमाडौं । नेपाल महिला सङ्घले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाको नाम समेत जोडिएकोप्रति आपत्ति जनाएको छ ।
महिला सङ्घले आज विज्ञप्ति प्रकाशन गरेर नेपाली कांग्रेसकी सांसद डा राणालाई विभिन्न लाञ्छना लगाइ सो प्रकरणमा उहाँको संलग्नता रहेको भनेर नियतबस आरोप लगाइएको भन्दै यस कार्यको भत्र्सना गरेको छ ।
नेपाल महिला सङ्घकी अध्यक्ष उषा रावत मिश्रद्वारा आज जारी विज्ञप्तिमा प्रहरीले अनुसन्धान गरिरहेको यस घटना नेपालको प्रतिष्ठासँगै जोडिएकाले यसमा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्छ भन्दै डा राणा आफैँले संसद् तथा अन्य सार्वजनिक मञ्चहरुमा आफ्ना भनाइ राखिरहनुभएको अवस्थामा उहाँको संलग्नता भएको जस्ता आधारहीन प्रचार गर्नु उहाँप्रतिको अन्याय हो भनिएको छ ।

उहाँका बारेमा आएको यस समाचारले समाजमा भ्रम सृजना गरिरहेको भन्दै सो विज्ञप्तिमा भनिएको छ, ‘यस्ता खाले आधारहीन दुष्प्रचार र महिला नेताहरूमाथि हुने गरेको राजनीतिक हिंसा हिंसाहरू तुरुन्त बन्द गर्न अनुरोध गरिन्छ ।’
सो विज्ञप्तिमा यसरी कसैको चरित्र हत्या गर्नेगरी समाचार सम्प्रेषण नगर्न तथा सत्यतथ्य एवं वस्तुनिष्ठ हुन सबै सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्