तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग फुटबल : जावलाखेल र मर्स्याङ्दी बीचको खेल बराबरी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबिचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।

त्यस्तै, खेलको ७६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल गर्‍यो । खेलको ८० औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए ।

यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button