परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुग्नुभएका उहाँहरूबीच भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युत लगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज दिउँसो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उहाँले भोलि वैशाख ३० गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री र उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको थियो ।
परराष्ट्रमन्त्री साउद बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्नुहुने सांस्कृतिक सोइरी र रात्रि भोजमा सहभागी हुनुहुनेछ । साथै उहाँले सम्मेलनका क्रममा जापान, सिङ्गापुर र संयुक्त राज्य अमेरिकाका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नु हुनेछ ।
परराष्ट्रमन्त्री साउदका साथ उहाँकी धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद, मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी, परराष्ट्र मन्त्रीका स्वकीय सचिव खुमान थापा क्षेत्री रहनुभएको छ । उहाँ वैशाख ३१ गते आइतबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।








प्रतिक्रिया राख्नुहोस्