डडेल्धुराको आलितालमा पुनः डुङ्गा सञ्चालन

डडेल्धुरा । डडेल्धुराको आलितालमा लामो समयपछि पुनः डुङ्गा सञ्चालनमा ल्याइएको छ । आलिताल गाउँपालिका–३ मा रहेको आलितालमा बुधवारबाट पुनः डुङा सञ्चालनमा ल्याइएको हो ।
वडा कार्यालयको बजेटबाट बिग्रिएका डुङा मर्मत गरेर सञ्चालनमा ल्याइएको आलिताल–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षपछि आलितालमा पुनः डुङा सञ्चालनमा आएको हो ।
‘यहाँ रहेका डुङा बिग्रिएको तीन वर्ष भइसकेको थियो । हामी जनप्रतिनिधि भएर आइसकेपछि ती डुङ्गाहरू मर्मत गरेर सञ्चालनमा ल्याउन सफल भएका छौँ उनले भने ‘हाललाई २ वटा डुङा मर्मत गरेर सञ्चालनमा ल्याइएका छौँ ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो तालका रूपमा रहेको आलितालमा डुङा सञ्चालनमा आएपछि पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर माथि आलिताल–३ मा रहेको आलितालमा पुनः डुङा सञ्चालन गरिएपछि पर्यटकहरू बढ्ने गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले बताउनुभयो ।
उहाँले आलिताल घुम्न र प्राकृतिक रमणीय दृश्यको आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आग्रह गर्नुभयो । उहाँका अनुसार दैनिकजसो तालको अवलोकनका लागि बाह्य जिल्लाका साथै भित्री मधेश क्षेत्रकै आलिताल, जोगबुढा क्षेत्रका पर्यटक आलितालसम्म पुग्ने गरेको छन् ।
पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण र प्रचुर सम्भावना बोकेको आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको थियो । तर, स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि तालको मुहार नै फेरिएको छ ।
समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृङ्खलाको फेदमा रहेको ताललाई अझै व्यवस्थित गर्न सके पर्यटकहरूको सङ्ख्या बढाउन सकिन्छ । एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ । यस तालको परिपरी सुन्दर हरियाली वनले ढाकेको छ ।
डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ । डडेल्धुरा सदरमुकामबाट झण्डै ६० किलोमिटर पश्चिममा रहेको आलितालमा पर्यटकीय सम्भावना निकै बढी छ । कञ्चनपुरको बेतकोट भएर करिब ४५ किलोमिटरको सडक बाटो भएर आलिताल पुग्न सकिन्छ । मध्यम खालको तापमान हुने आलिताल क्षेत्रमा तालले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गराउन गाउँपालिकाले अहिले प्रयास गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्