तपाईँ सुन्दै हुनुहुन्छः

शोषण र उत्पीडनविरुद्ध साझा प्रतिवाद जरुरी : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पीडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताउनुभएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार गठन भएपछि मजदुर र आम जनताको हितमा केही महत्वपूर्ण काम तथा निर्णय भएको उल्लेख गर्नुभयो । वर्तमान सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याएको जानकारी दिँदै त्यसबाट लाखौँ नेपाली नागरिक लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

राहदानी लिनैका लागि लामो समयसम्म लाइनमा रहनुपर्ने बाध्यताको अन्त्य भएको, सवारी चालक अनुमति पत्रमा रहेको समस्या क्रमशः हटेको र विद्यालयमा भर्ना हुनु अगावै देशैभरका विद्यार्थीले सहज रुपमा पाठ्यपुस्तक पहिलो पटक पाएको भन्दै प्रधानमन्त्री दाहालले प्रसन्नता व्यक्त गर्नुभयो ।

सरकारले केही सकारात्मक कामको सुरुवात गरेपछि जनविरोधी तत्वले गलत प्रचार गरेको प्रधानमन्त्री दाहालको भनाइ छ । सरकारले देश र जनताको पक्षमा धमाधम निर्णय गर्न थालेपछि प्रतिक्रान्तिकारी र प्रतिगमनकारी तत्त्वलाई सह्य नभएकाले विरोधमा उत्रिएको र नेपाली जनतालाई भ्रम दिन खोजेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

नेपाली जनताले त्याग र बलिदानबाट स्थापित गरेको प्रणालीमाथि विभिन्न कोणबाट आक्रमण भएकाले त्यसलाई परास्त गर्न मजदुर वर्गले सशक्त प्रतिवाद गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारको साझा कार्यक्रम प्रतिनिधिसभामा आफूले गरेको सम्बोधनमा सामाजिक न्याय र श्रमिकको हक अधिकारलाई विशेष प्राथमिकतामा राखेको र सोही अनुसारका गतिविधि अगाडि बढाएको उहाँको भनाइ छ । यस्तै, सरकारले सुशासन र समृद्धिलाई विशेष प्राथमिकतामा राखेको तथ्य पेस गर्दै २०४८ सालदेखिका सबै भ्रष्टाचारको विषयमा छानबिन गर्न छिट्टै उच्चस्तरीय आयोग गठन गरिने जानकारी उहाँले दिनुभयो ।

मुलुक आर्थिक रूपले पूर्ण रुपमा सङ्कटमुक्त नभए पनि सरकारले चोरी पैठारी रोक्न कडा कदम चालेको र त्यसको सकारात्मक नतिजा देखा परेको प्रधानमन्त्रीको भनाइ छ । सरकारले सम्पूर्ण तागतसहित काम गर्न नपाए पनि केही क्षेत्रमा उल्लेख्य प्रगति भएको, राजस्व सुधारतिर गएको, विदेशी मुद्राको सञ्चिति बढेको तथा विप्रेषण आप्रवाहमा वृद्धि भएको प्रधानमन्त्रीले बताउनुभयो ।

बैङ्क, लघुवित्तको समस्या समाधानमा सरकार केन्द्रित रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो,“एकथरी मान्छे जनताको पक्षमा एकपछि अर्को काम हुन थाल्यो भनेपछि झुटो प्रचार गर्न थालेका छन् । क्रान्तिकारीलाई अपमान गर्ने कोसिस भएको छ । त्यसका विरुद्ध तपाईँ हामीले नै प्रतिवाद गर्नुपर्छ ।” बर्हिगमित लडाकुलाई रु दुई लाख दिने निर्णय आफ्नो नभएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सर्वोच्च अदालतको आदेशका आधारमा पूर्ववत् निर्णय कार्यान्वयन गर्न खोजिएको बताउनुभयो ।

फरक एक प्रसङ्गमा आउने नीति तथा कार्यक्रम र बजेट श्रमिक जनतामुखी होस् भन्नेमा आफ्नो प्रमुख ध्यान रहेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसका लागि आफूले विशेष पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेताहरू लीलामणि पोखरेल, जयपुरी घर्ती लगायतले मजदूर वर्गको हितका लागि सरकारले अधिकतम प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मजदुर नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई प्रधानमन्त्री दाहालले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button