पर्यटक तान्दै सुनकोसी

सिन्धुली । सिन्धुलीको बिपी राजमार्गमा दैनिक पूर्वपश्चिम सवारी साधन गुडी रहन्छन् । राजमार्गबाट देखिने सुन्दर र मनोरम दृश्यले जो कोही पनि लोभिन्छन् । अझ यति बेला बिपी राजमार्गको छेवै भएर बग्ने सुनकोसीमा ¥याफ्टिङ, मोटर बोटमा जलयात्रा गरेर रमाई रहेका स्थानीय तथा बाह्य पर्यटकहरूका कारण सुनकोसीको सौन्दर्य झनै थपीदिएको छ ।

काठमाडौँलाई तराईका जिल्लासँग जोड्ने छोटो दूरीको बिपी राजमार्गले आवतजावतमा सहज भएपछि सिन्धुलीको पर्यटन प्रबद्र्धनमा थप सहयोग पुगेको छ । अहिले पर्यटकहरू गर्मी मौसम सुरु भएसँगै सुनकोसीमा जलयात्रा गरेर आनन्द लिई रहेका छन् । सुनकोसीको चिसो पानीसँग खेल्न पर्यटकहरू सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोट आइपुग्छन् । अहिले सुनकोसीमा जलयात्रा गर्नेहरुको भीड नै लाग्ने गरेको सुनकोसी गाउँपालिकाका स्थानीय मनोज दाहालको भनाई छ ।
पहिले काठको डुङ्गा ,टायर, ट्युब बनाएर नदीमा तैरिँदै आएका स्थानीयले अहिले पानीमा गाडी जसरी गुड्ने ¥याफ्टिङ , मोटर बोट चढ्न पाएका छन् । जलयात्राको अनुभव गर्न पाएकोमा स्थानीय बासी पनि खुसी छन् ।

सुनकोसीमा जलयात्रा गर्न पुग्नु भएका पत्रकार राजकुमार कार्कीले पहिलेको तुलनामा खोलानालाहरू पर्याप्त नभएको र दहहरू पनि सुक्दै गएको अवस्थामा प्राकृतिक जलयात्राले अर्कै आनन्द दिने बताउनु भयो । सुनकोसीको छालमा पानीसँग खेल्दै यात्रा गर्दा स्वर्गीय आनन्द प्राप्त गरेको उहाँको भनाई छ ।
पाँच वर्ष अघि मूलकोटमा व्यवसायीहरूले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जलयात्रा सेवा अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पाँच वर्षकै यता सबै भन्दा बढी स्थानीय तथा बाह्य पर्यटक यस वर्ष जलयात्राको लागि सुनकोसीमा आएको सुनकोसी गाउँपालिका ५ मुलकोट विकास समितिका अध्यक्ष मनोज श्रेष्ठले बताउनु भयो ।

तराईको जिल्ला र काठमाडौँ दुवै तर्फबाट आउने पर्यटकहरूको लागि मुलकोट ९५ किलो मिटर मात्रको दुरीमा छ । मुलकोट आउनको लागि दुवै तिर छोटो दुरी भएका कारण पनि जलयात्रा सेवा अहिले धेरै पर्यटकको रोजाई बनेको छ ।
नयाँ वर्षको सुरुवात सँगै यस वर्ष जलयात्रा गर्ने पर्यटकको भिड लागेको श्रेष्ठको भनाई छ । अहिले दैनिक दुईदेखि तीन सय पर्यटक जलयात्राको लागि सुनकोसीमा आइपुग्छन् । नयाँ वर्षको सुरुवातको दिनमा रिसोर्ट तथा होटेलहरूले थेग्नै नसकेर कति पर्यटकहरू फिर्तासमेत भएको बताउनु भयो । जलयात्राको लागि आउने पर्यटकहरूले सिन्धुली र रामेछापको ऐतिहासिक महत्त्व बोकेको, मठ मन्दिर ,सिन्धुलीगढीको अवलोकनसमेत गर्ने गरेको उहाँको भनाई छ ।

पर्यटकहरू सुनकोसीमा ¥याफ्टिङ, मोटर बोटमा बसेर पानीसँग खेलिरहेका हुन्छन्, कोही खोलाको किनारमा बसेर फोटो, भिडियो खिच्ने ,टिकटक बनाउने, नाच्दै गाउँदै रमाई रहन्छन् । बिपी राजमार्गमा हिड्नेहरुले समेत त्यो दृश्यलाई हेरेर छुटै आनन्द लिने गरेका छन् ।
सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष सुरथ बसेल पर्यटकको आगमनले सिन्धुलीको सुनकोसी गाउँपालिका ५ मुलकोटको रिसोर्ट तथा होटेल व्यवसायीलाई फाइदा पुगेको बताउनु भयो ।

मुलकोटका ठुला रिर्सोटलाई मात्र नभएर साना होटेल व्यवसायलाई समेत फाइदा पुगेको उहाँको भनाई छ । मुलकोटको होटलहरुमा पाईने आगार्निक खाना, शान्त, सुन्दर वातावरणले पर्यटकहरू लोभिन्छन् । मुलकोट नजिकै बिपी राजमार्गमा रहेको सेती देवीको मन्दिर (ऐनै ऐना भएको ठाउँले थप अर्को आनन्द दिने उहाँले बताउनु भयो । वडाको विकासको लागि पनि पर्यटकको आगमन सुखद् पक्ष भएको वडा अध्यक्ष बसेलको भनाई छ । सुनकोसीमा जलयात्राका लागि मुख्य दुई मौसम चैत, वैशाख र भदौ, असोजमा पर्यटकको भिड लाग्ने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्