इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको गृहकार्य सुरु

इलाम । इलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विषयमा आधार तयार गर्न थालिएको छ ।
प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि आवश्यक जग्गा व्यवस्थापन, भौतिक पूर्वाधार, जनशक्ति तथा नीतिगत व्यवस्थाका विषयमा इलाम नगरपालिकाले आधार तयार गरेको छ साथै छलफल अघि बढाइएको जनाइएको छ।
इलामको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको विकासलाई केन्द्रमा राखेर प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव अघि सारिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले जानकारी दिनुभयो ।
नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाउँदै नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी थालेको जनाएको छ । इलाम नगरपालिकाले आधार पत्र नै तयार गरी काम अघि बढाएको र सङ्घीय सरकारलाई समेत प्रतिष्ठान निर्माणका लागि पहल गर्न थालिएको थापाले बताउनुभयो ।
यसबाट इलामसहित पूर्वी पहाडी जिल्लाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै चिकित्सा शिक्षा अध्ययनको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको जनाइएको छ।
इलाम अस्पतालको विकास क्रमलाई पनि प्रतिष्ठान स्थापनाको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गरिएको छ। अस्पतालले हाल सय शय्याको संरचनाअनुसार सेवा सञ्चालन गर्दै आएको दस्ताबेजमा उल्लेख छ। अस्पतालमा ओपिडी, रेडियोलोजी, प्रयोगशाला, आकस्मिक सेवा, अन्तरङ्ग सेवा, डायलाइसिस, मातृ तथा शिशु सेवा, फार्मेसीलगायतका सेवा उपलब्ध छन्। प्रतिष्ठान स्थापनाका लागि इलाम नगरपालिकाको पहलमा जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। करिब १४ सय रोपनी जग्गा तयारी अवस्थामा रहेको जनाएको छ । त्यसै गरी इलाम अस्पताल परिसर तथा आसपासका क्षेत्रमा आवश्यक जग्गा व्यवस्थापन गर्ने तयारी गरिएको जनाएको छ।
प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सङ्घीय ऐन निर्माण, अस्पताललाई ३ सय शय्याको शिक्षण अस्पतालका रूपमा स्तरोन्नति र आवश्यक भवन निर्माणलाई प्राथमिकतामा राखिएको छ। भवन निर्माणका लागि भारतीय राजदूतावासमार्फत सहयोग जुटाउने प्रस्तावसमेत गरिएको छ।
त्यसै गरी, देश तथा विदेशमा रहेका नेपाली, विभिन्न सामाजिक सङ्घसंस्था र नागरिक समाजसँग समन्वय गरी आवश्यक स्रोतसाधन जुटाउने योजना रहेको आधार पत्रमा समावेश गरिएको छ।
प्रतिष्ठान स्थापना भएमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा, मोरङलगायत पूर्वी पहाडी तथा तराईका जिल्लाका नागरिकले उच्चस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
जिल्लामा समेत गरी करिब १० लाख नागरिक उच्च स्तरीय स्वास्थ्य सेवा बाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्