बारा २ का ६५ वटा मतदान स्थल अति संवेदनशील

बारा । वैशाख १० गते अर्थात् भोलि आइतबार हुने बाराको क्षेत्र नं.२ को उपनिर्वाचनमा ६५ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।
बाराको क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनमा ८२ वटा मतदान स्थल तोकिएको छ । जसमध्ये ६५ वटा अति संवेदनशीलको सूचिमा रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । उपनिर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन वर्गीकरणका आधारमा सुरक्षा व्यवस्था परिचालन गरिएको उहाँले बताउनुभयो ।
उपनिर्वाचनका लागि बारामा दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनको दिन क्षेत्र नं.२ मा आधिकारिक बाहेक अन्य व्यक्तिहरूलाई प्रवेशमा रोक लगाइएको छ ।
सिम्रौनगढ, कोल्हबी, बारागढी, मटिअर्वा, कलैयालगायतका नाकामा प्रहरी परिचालन गरिएको र मतदानको दिन अन्य क्षेत्रका पैदल यात्रु समेत प्रवेश हुन नपाउने गरी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई गाउँपालिका, देवताल गाउँपालिका, सुवर्ण गाउँपालिकाका सबै वडा र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भू–भाग यस निर्वाचन क्षेत्रमा पर्दछ ।
बारा क्षेत्र नं. २ मा १ लाख ५ हजार २४८ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्