‘निष्पक्ष न्यायका लागि कानुन व्यवसायीहरूको आचरण महत्वपूर्ण’
दोलखा । सर्वोच्च अदालतका कायम मुकायम (कामु) प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायको लागि कानुन व्यवसायीहरूको आचरण महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल बार एसोसिएसन दोलखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कामु प्रधान न्यायाधीश कार्कीले कानुन व्यवसायीहरू असल आचरणयुक्त हुनुपर्ने बताउनुभयो ।
कामु प्रधान न्यायाधीश कार्कीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुहुँदै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
दोलखा बारका अध्यक्ष कृष्ण बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारको महान्यायधिवक्ता डा. दिनमणि पोखरेल, नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसी, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता लक्ष्मी उप्रेती, बार काउन्सिलका सदस्य चन्द्रकान्त ज्ञवाली, सर्वोच्च बारका अध्यक्ष हरिशङ्कर निरौला, वरिष्ठ अधिवक्ता मेघनाथ पोखरेल, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्र दोलखाका अध्यक्ष कुलबहादुर बुढाथोकी, नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भिम दाहाल, दोलखा बारका पूर्व अध्यक्ष सरोज उप्रेती, सचिव राजेन्द्र नारायण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
झण्डै ६५ लाख लागतमा निर्माण सम्पन्न भएको दुईतले भवन निर्माणको लागि बागमती प्रदेश सरकारको ३० लाख, दोलखाको तामाकोसी, बैतेश्वर, कालिन्चोक र मेलुङ गाउँपालिका तथा विभिन्न संघ संस्था र व्यक्तिले सहयोग गरेको दोलखा बारका अध्यक्ष कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्