सुख्खा पहिरोमा पुरिएर मजदुरको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका ८ मा निर्माणाधीन सडकको ग्याविन जाली भर्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एक जना मजदुरको माटोले पुरिएर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल ८ बस्दै आउनुभएका कुशल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी ढुण्डी राज न्यौपानेले जानकारी दिनुभयो ।
घाइते हुनेमा ओखलढुङ्गा घर भई हाल काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल ८ बस्दै आउनुभएकी संजिता राई र उहाँको चार वर्षीय छोरा साविक राई रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
आज दिउँसो ग्याविन जाली भर्ने क्रममा माथिबाट पहिरो खसेको थियो । पहिरोमा ४ जना मजदुर पुरिएका थिए ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्