तपाईँ सुन्दै हुनुहुन्छः

चर्नावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र

दोलखा।दोलखाको पवित्र धार्मिक स्थल चर्नावती धाममा निर्माण सम्पन्न भएको ज्येष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनको तयारी भएको छ । पूर्व मन्त्री आनन्दप्रसाद पोखरेलको विशेष पहलमा महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत प्राप्त झण्डै तीन करोड रुपैयाँको लागतमा चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन सङ्घले निर्माण सम्पन्न गरेको ज्येष्ठ नागरिक सेवा केन्द्र नयाँ आर्थिक वर्षबाट सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ७ चर्नावती धाम स्थित चर्नावती सामुदायिक बनको ४० रोपनी खाली पर्ती जग्गामा ज्येष्ठ नागरिक सेवा केन्द्र सहित विभिन्न संरचना निर्माण भई रहेको अध्यक्ष बुढाथोकीले बताउनु भयो । पक्की तीन तले ज्येष्ठ नागरिक सेवा केन्द्रमा १६ वटा आवास कोठा, एक वटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा शौचालय कोठा रहेको चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघका सचिव रामेश्वर उप्रेतीले बताउनु भयो । ज्येष्ठ नागरिक सेवा केन्द्रमा ४८ जनासम्म ज्येष्ठ नागरिक बस्न सक्ने संघका सचिव उप्रेतीको भनाई छ ।   

तामाकोशी नदी किनारमा अवस्थित चर्नावती धाम रहेको ठाउँमा तेत्रा युगमा राम– सिताको पाइला परेको विश्वास गरिन्छ । किंवदन्ती अनुसार वनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धाम आसपास राम– सिताले खाना पकाएर खाएको चार मुखे ढुङ्गाको ठूलो चुलो, चौलानी जस्तो पानी बग्ने चामल पखाल्ने खोला र सिताको पाइला रहेको ढुङ्गा रहेको स्थानीय माधव उप्रेतीले बताउनु भयो । पछिल्ला समय सिताको पाइला भएको ढुङ्गा हराएको र चामल पखाल्ने खोलामा चौलानी जस्तो पानी नदेखिने उहाँले बताउनु भयो । 

अर्को किंवदन्ती अनुसार अयोध्यामा रामको राज्याभिषेकको बेला श्रृङ्गी ऋषि चाहिने भएपछि चर्नावती धाम आसपास रहेको अधेरी खोलाको सीरमा तपस्या गरिरहेका श्रृङ्गी ऋषिलाई लगिएको र पछि राम– सिता आफ्नो राज्यभिषेक गर्ने ऋषिको तपस्या स्थल हेर्न आउँदा चर्नावती धाममा समेत बसेका थिए । 

चर्नावती धामलाई कासी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ । नेपालबाट कासी– गयामा आफ्ना पितृको उद्धारको लागि श्राद्ध गर्न पुग्नेहरूलाई त्यहाँका पण्डितहरूले चर्नावती धाम कासीको शिर भएकोले त्यहाँ श्राद्ध नगरी कासी– गयामामात्र श्राद्ध गरेर पितृको उद्धार नहुने बताउने गरेको स्थानीय माधव उप्रेतीले उल्लेख गर्नुभयो । 

चर्नावती धाममा तामाकोशी, गोपिखोला र चरङ्गेको त्रिवेणी समेत रहेको छ । त्रिवेणी मध्य चरङ्गे खोला दक्षिणबाट उत्तरतर्फ बगेकोले यसलाई पवित्र उत्तर वाहिनी नदी समेत भनिने स्थानीय बताउँछन् । त्रिवेणीमा सिताले स्नान गरेको विश्वास समेत गरिन्छ । 

चर्नावतीलाई सात सय बर्ष बाँचेका रविदिल आर्चायले धाम बनाएको किंवदन्ती आफ्ना बाबु– बाजेबाट सुनेको स्थानीय जयबहादुर खड्काले बताउनु भयो । झण्डै डेढ सय बर्ष अघि तिर रामनाथ उप्रेतीले शिवालय मन्दिर र पाटी बनाएर चरङ्गे खोलामा पुल समेत हालेको र मन्दिर तथा पुलको संरक्षणको लागि गुठी समेत स्थापना गरेको स्थानीय माधव उप्रेतीको भनाई छ । सोही समयमा स्थानीय कोइरालाहरूले समेत शिवालय मन्दिर र पाटी बनाएको स्थानीय बताउँछन् । 

तेत्रा युगमा राम– सिताको पाइला परेको चर्नावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र बन्नु महत्वपूर्ण रहेकोले यसको सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघका सल्लाहकार, समाजसेवी शोभित उप्रेतीले बताउनु भयो । चर्नावती धामको प्रचार– प्रसार तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनको लागि सङ्घले आगामी जेठ पहिलो साता महायज्ञ लगाउने तयारी समेत गरेको छ । महायज्ञ सञ्चालक समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पवित्र भूमिमा बनेको ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा महायज्ञले थप टेवा पुग्ने बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button