तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय सरकारलाई मजबुत बनाई अघि बढ्छौँ : मुख्यमन्त्री शाह

अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय सरकारलाई मजबुत बनाई नागरिकलाई सेवा प्रदान गर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिमका पहाडी जिल्लाको भ्रमणका क्रममा पुर्खौली थलो अछाम पुग्नुभएका शाहले तीन वटै तहका जनप्रतिनिधि र कर्मचारीहरू मिलेर काम गरे मात्रै संघीय गणतन्त्रले सार्थकता पाउने बताउनुभयो ।

उहाँले वडा, टोलबाट बढी भन्दा बढी नागरिकको सहभागी गराएर मात्रै योजना छनोट गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहले साना साना टुक्रे योजना, व्यक्तिगत योजना र कमिसन तथा झ्यालबाट आउने योजनाको अन्त्य आफ्नो कार्यकालमा हुने दाबी गर्दै त्यसको लागि कर्मचारी र जनप्रतिनिधिहरुबीच सहकार्य तथा समन्वय अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो ।

सरकार गठबन्धनबाट सञ्चालन भएको बताउँदै मुख्यमन्त्री शाहले प्रदेशमा सबैलाई मिलाएर लैजाने वातावरणको निमार्ण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहले अछामको बयालपाटा अस्पताल, बैधनाथ धाम लगायतका क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ भने साँफेबगर नगरपालिकाले उहाँको स्वागत समेत गरेको छ । मुख्यमन्त्री शाहको अछाममा २ दिने कार्यक्रम रहेको बताइएको छ ।

मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा पनि सहभागी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button