स्ववियु निर्वाचन : आठ क्याम्पसमा अवरुद्ध, दुई क्याम्पसमा निर्विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
देशभरका क्याम्पसमा हिजो (फागुन २७ गते) उत्साहजनक रूपमा उम्मेदवारको मनोनयन भए पनि आठ आङ्गिक क्याम्पसमा भर्ना विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनबिच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यकामा त्रिचन्द्र क्याम्पस, विश्व भाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका हुन् ।
उहाँले अवरुद्ध भएको क्याम्पसमा निर्वाचन प्रक्रिया थाल्न क्याम्पस प्रमुखलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
दुई क्याम्पसमा निर्विरोध
खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले दुई क्याम्पसमा निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा बहुमुखी क्याम्पस गोरखा र धनकुटा बहुमुखी क्याम्पस धनकुटामा स्ववियुको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।
यस पटकको स्ववियु निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुँदैछन् ।
प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो ।
आजै उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्