राष्ट्रिय व्यक्तित्वलाई उपचारमा निजामती सरह सुविधा दिने तयारी हुदैछ : मन्त्री मोदी

ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरूको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको बताउनुभएको हो ।
“तपाईँहरूको लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तयार छु” मन्त्री मोदीले भन्नुभयो, “हाम्रो मन्त्रालय अन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछन् । अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।”

राष्ट्रिय व्यक्तित्वहरूको सम्मानका लागि आफूहरूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाई थियो ।
आर्थिक समस्याका कारण कलाकारहरूले जीवनको उत्तरार्द्ध उपचार समेत गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै मन्त्री मोदीले भन्नुभयो, आर्थिक अभावले तपाइहरूलाई निरास लान सक्छ, राज्यका लागि पुर्याएको योगदानको मूल्याङ्कन भएन कि भन्ने पनि तपाइहरूलाई लाग्छ । तपाइहरू सहित राष्ट्रिय व्यक्तित्वहरूको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईँहरूको कलाको राज्यले उचित सम्मान गर्छ ।”
मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्टिकोण परिवर्तन गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको सेवा दिने सवालमा कर्मचारीले आलटाल गर्ने जुन प्रवृत्ति छ, त्यसलाई अन्त्य गरेर भ्रष्टाचारमुक्त समाज निर्माण गरी सुशासन कायम गर्ने दिशामा यो सरकार अग्रसर छ ।”









प्रतिक्रिया राख्नुहोस्