तपाईँ सुन्दै हुनुहुन्छः

ठमेलमा कला प्रदर्शनी सुरु

काठमाडौँ । काठमाडौँको ठमेलमा कला प्रदर्शनी सुरु भएको छ । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित काठमाडौँ इको होटलमा छ दिने कला प्रदर्शनी सुरु भएको हो ।

कला प्रदर्शनीको शुभारम्भ गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ बालबालिकालाई कला प्रतियोगितामा भाग लिएर उत्कृष्ट कला प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा रहेका कलासम्बन्धी ज्ञानलाई उजागर गर्न कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । विगत १३ वर्षमा चार सयभन्दा बढी सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गरिसकेको सो संस्थाले अहिले ५५ बालबालिकालाई संरक्षण गरिरहेको अध्यक्ष टेडेटले बताउनुभयो ।

छ दिनसम्म चल्ने कला प्रदर्शनीमा सात बालबालिकाले बनाएका २८ कला प्रदर्शनीमा राखिएको काठमाडौँ इको होटेलका महाप्रबन्धक सहदेव (विमल) धमलाले जानकारी दिनुभयो ।

संस्थाले भूकम्पको समयमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ लगायतका जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण, विभिन्न जिल्लामा मौरीपालन, बाख्रा वितरण, महिला हिंसा न्यूनीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button