आइसीपी सञ्चालनको ठेक्का कैलाश टर्मिनल्स जेभीलाई
वीरगञ्ज । वीरगन्ज भन्सार आइसीपी सञ्चालनको ठेक्का कैलाश टर्मिनल्स जेभीले पाएको छ ।
इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कैलाश जेभीसहित ५ कम्पनीले आशय पत्र दर्ता गराएकोमा कैलाशलाई चयन गरिएको बताउनुभयो ।

५ वर्षका लागि कैलाश टर्मिनल्स जेभीले १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा आइसीपी सञ्चालनको ठेक्का पाएको गजुरेलले जानकारी दिनुभयो । आइसीपी सञ्चालनसम्बन्धी दर्ता भएका आशय पत्रमध्ये क्वालिटी कस्ट बेस मूल्याङ्कन विधिबाट सो कम्पनी चयन गरिएको कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो ।
२०७४ देखि नै सञ्चालनमा आएको वीरगन्ज आइसीपी सञ्चालनको टेण्डर २०७५ सालमा पहिलो पटक गरिँदा टेण्डर प्रक्रिया असफल भएको थियो ।

इन्टरमोडल यातायात विकास समिति नियमनकारी निकायको रुपमा रहेर सञ्चालनको लागि निजी क्षेत्रलाई लगाउने नीति अनुरुप वीरगन्ज आइसीपी ठेक्कामा लगाइएको गजुरेलले बताउनुभयो ।
इन्टर मोडल यातायात विकास समितिको स्वामित्वमा वीरगन्ज, विराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानी, चोभार र सिर्सियामा सुक्खा बन्दरगाह सञ्चालनमा छन् ।
एकै छानामुनि भन्सार, क्वारेन्टाइन, सीमा सुरक्षा जस्ता संस्था आवास सुविधासहित सञ्चालनमा आउनाले मानवीय तथा मालसामानको अन्तरदेशीय आवतजावतलाई झन्झटरहित बनाउने प्रयास स्वरूप भारतले नेपाल र आफ्नो भूमिमा समेत गरी आइसीपी निर्माण गरेको हो ।
नेपालको आधा भन्दा बढी अन्तर्राष्ट्रिय आयात निर्यात कारोबार आइसीपीबाटै हुने भएकाले यहाँ हुने पूर्वाधार तथा सुविधाले मुलुककै आयात निर्यात व्यापारमा ठूलो महत्त्व राख्ने वीरगञ्ज भन्सार कार्यालय आइसीपी भन्सारका प्रमुख अधिकृत राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्