नेकपा (एकीकृत समाजवादी)र एमालेका नेता बीच भेट
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज भेट गर्नुभएको छ ।
भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको जनाइएको छ ।
उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र डा विमला राई पौड्याल सहभागी हुनुभएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष नेपालले नेम्वाङलाई मत माग्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त भेटमा नेकपा (एकीकृत समाजवादी)बाट पार्टी अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झा सहभागी रहनुभएको थियो ।
राष्ट्रपतिको चुनाव नजिकिएसँगै नेपाली काँग्रेसको तर्फबाट आठ दलको समर्थनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेल र एमालेका नेम्वाङमा भेटघाटमा व्यस्त हुनुहुन्छ ।
नेकपा(एकीकृत समाजवादी)ले राष्ट्रपतिमा काँग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ । रासस








प्रतिक्रिया राख्नुहोस्