पर्यटन मन्त्रीद्वारा १० बुँदे कामको सूची सार्वजनिक
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल थाल्नेदेखि नागरिक उड्डयन विधेयक लगायत १० कामको सूची सार्वजनिक गर्नुभएको छ । पर्यटन मन्त्रालयमा आज पत्रकारसँगको भेटघाटमा उहाँले १० बुँदे कामको सूची सार्वजनिक गर्नुभएको हो ।

मन्त्री किरातीले पदभार ग्रहण गरेको ४२ दिनमा सुधार गरेका पाँच बुँदे कामको विवरण प्रस्तुत गर्नुहुँदै पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान, नेपाल नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माण गर्ने तयारी रहेको बताउनुभयो । सरसफाइ संस्थागत गर्न निर्देशिका तयार गरिनुका साथै सम्पदा क्षेत्रमा यातायात सञ्चालन गर्ने, ग्राउण्डेड जहाज छानबिन समिति गठन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै हवाई नागरिक उड्डयन विधेयक प्रक्रिया अघि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्ने योजना रहेको मन्त्री किरातीले सुनाउनुभयो ।
उहाँले यस अगाडि पाँच वटा काम सम्पन्न भएका जानकारी दिनुभयो । नेपाल वायुसेवा निगमको अनलाइन टिकट, सरसफाइ र व्यवस्थापकीय सुधार, हवाई सुरक्षासम्बन्धी निर्देशन, लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेट व्यवस्थापनको काम सम्पन्न भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्